सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमा दूध, अण्डा र मासु उत्पादन बढ्दै

२०७९ भदौ १३, ११:३७ खबर संवाददाता

धनगढीः पछिल्लो समय सुदूरपश्चिमा दुध, मासु र अण्डाको उत्पादन बढ्दै गएको पाइएको छ। उन्नत नश्लका गाई र भैंसीको व्यावसायिक पालन हुन थालेपछि प्रदेश दुध र मासुमा आत्मनिर्भर बन्दै गएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार दूध र मासु कञ्चनपुरबाट अन्य जिल्लामा निर्यात हुन थालेको छ। पहाडी जिल्ला डडेल्धुराबाट उत्पादित दुध कैलालीले आयात गर्दै आएको छ भने कञ्चनपुरबाट उत्पादित दुध भारतको टनकपुर निर्यात हुने गरेको छ। 

पहिलो र दोस्रो लहरको कोरानाकालपछि विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरुलाई प्रदेश सरकारले स्वदेशमै कृषि उद्यमी बन्न कार्यक्रम ल्याएपछि पशुपालक र कुखुरापालक किसानको संख्या बढ्दै गएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीका योजना अधिकृत पुस्करराज नाथले बताए। ‘सुदूरपश्चिम प्रदेश मासु, अण्डा र दुधमा आत्मनिर्भर बन्दै गएको देखिन्छ। कैलालीमा अण्डा उत्पादनका लागि ठुलो लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएकाले अण्डा बाहिरबाट आयात गर्नु परेको छैन’ उनले भने। 

कैलालीमा ह्याचरी उद्योगबाट अण्डा उत्पादन हुन थालेपछि कैलाली र कञ्चनपुर अण्डामा आत्मनिर्भर बनेकाले भारतबाट अण्डा आयात पूर्णरुपमा बन्द भएको निर्देशनालयले बताएको छ।  कञ्चनपुरमा झण्डै २५ हजार मेट्रिकटन अण्डा खपत हुने गरेकोमा २० हजार मेट्रिक टन अण्डा जिल्लामा उत्पादन भइरहेको छ। कैलाली र कञ्चनपुरले भारतबाट अण्डा आयात गर्नुपर्ने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन्।

यस्तै कञ्चनपुरबाट १ सय ४३ मेट्रिकटन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ। जिल्लाबाट २३ हजार ६ सय ५५ मेट्रिकटन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ। कैलाली र कञ्चनपुर दूध, अण्डा र मासुमा मात्र नभएर माछामा समेत आत्मनिर्भर नजिक पुगेको निर्देशनालयको दाबी छ। प्रदेशभित्र वार्षिक ३५ देखि ४० हेक्टर क्षेत्रफल माछा व्यवसायका लागि विस्तार हुँदै आएको छ।

एक जिल्लामा उत्पादन हुने अण्डा, मासु तथा दुध अर्को जिल्लामा निर्यात हुँदै आएपछि आपुर्ति व्यवस्था समेत सहज बन्दै गएको छ। पछिल्ला केही वर्षयता चाडपर्व दसैंतिहारका बेला सुदूरपश्चिमबाट निरन्तर रुपमा खसीबोका पोखरा र काठमाडौँ समेत निर्यात हुँदै आएको निर्देशनालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस