चोरी बढेपछि कलुवापुर बजारका व्यवसायी चिन्तित
कञ्चनपुर : पूर्व पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा चोरीका घटना बढ्दै जान थालेपछि व्यवसायी निकै चिन्तित भएका छन्। व्यवसायीले चोरीका घटना न्यूनीकरण गरी धनमालको सुरक्षा गरिनुपर्ने माग गरेका छन्।
चाडपर्व नजिकिदै गर्दा चोरीका घटना बढन थालेका छन्। चोरीका घटना बढ्दै जान थालेपछि व्यवसायी सुरक्षाका लागि वडा कार्यालय र प्रहरीमा गुहार माग्दै पुग्न थालेका छन्।
गत साता मात्रै चोरहरूले स्थानीय व्यवसायी भीमबहादुर ऐरको पसल तोडेर नगद रकम सहित सामान चोरी गरेर लगेका थिए। आधा दर्जन पसलमा चोरीको प्रयास भएको थियो। बजार क्षेत्र नजिकैका स्थानीय किसानका गोठमा पालिएका खसी बाख्रा रातमा चोरी भएका थिए। बजारक्षेत्रमा जडान भएका बत्ती मर्मतका लागि वडाध्यक्षलाई जानकारी गराइएको उनले बताए।
वडाध्यक्ष शेरबहादुर साउदले बजार क्षेत्रको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन स्थानीय व्यवसायी, प्रहरी र सामाजका अगुवाहरूसँग छलफल गरी आवश्यक रणनीति बनाइने बताए।