गाउँ धनगढीको आलुबारीमा फक्रिएको रतिराम र रामदासीको प्रेम
तस्बिरमा देखिएको दृष्य धनगढी उप–महानगरपालिका वडा नम्बर ८ को धनगढी गाउँको हो। त्यो दृष्यले एकछिन हाम्रो ध्यान पनि तान्यो। शनिबार दिउँसोको कुरा हो, त्यहाँ पुग्दा रतिराम चौधरी र उनकी श्रीमती रामदासी बारीमा आलु खन्दै थिए। आलुका जरा उखेल्दै छाट्दै छेउमै राखिएका प्लाष्टिकको बाल्टी र बाटामा जम्मा गर्नमा चौधरी दम्पत्ती व्यस्त देखिन्थ्यो। चौधरी दम्पत्तीको व्यस्तताका बीच हामीले कुराकानी गर्ने अनुमती माग्यौँ। दुवैजना खुसि हुदै एकछिन हामीसँग गफिए।
रामदासी र रतिराम चौधरी दम्पत्तीलाई व्यवसायिक रुपमा आलु खेती गर्न थालेको १६ वर्ष पुगिसकेको रहेछ। उनीहरुले २०५९ सालदेखी १६ कठ्ठा जग्गा भाडामा लिएर सुरु गरेको तरकारी खेतीलाई अहिले पनि निरन्तरता दिएका छन्। तर अहिले अढाई कठ्ठामा मात्र तरकारी खेती खुम्चिएको छ।
१५ धुर जग्गामा लगाएको थारु आलु यसअघि नै आधा बिक्रि गरिसकेको चौधरी दम्पत्तीले बाँकी आलु शनिबारको फुर्सदमा खन्न लागेका रहेछन्। यो जग्गामा उनीहरुले वर्षमा एक सिजन आलु र एक सिजन करेला लगाउने गरेका छन्। घरको अगाडी पट्टीको जग्गामा तरकारीका बिउ विजन उत्पादन गर्दै आएका छन्। स्थानीय जातको आलु मात्र लगाउने चौधरी दम्पत्तीले १५ धुर जग्गामा वर्षमा ४/५ क्वीन्टल आलु उत्पादन गर्दै आएका छन्। उनीहरुले उक्त आलुलाई प्रतिकिलो ४० देखी ५० रुपैया सम्ममा बिक्रि गर्ने गरेका छन्। दुई छोरी र एक छोरा समेत रहेका चौधरी दम्पत्तीले तरकारी खेतीबाटै जिविकोपार्जन गर्दै आएका छन् भने एक छोरीको विहे समेत भइसकेको छ। तरकारी खेतीबाटै दैनिकी चलाउने चौधरी दम्पत्तीले तरकारी बिक्रिबाट आएको पैसाले नै दुईजना छोराछोरीलाई स्नातक तह सम्म पढाउन सफल भएको बताए।