सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिम प्रदेशमा भएको बर्षाले हिउँदे बालीलाई फाईदा

२०७५ फाल्गुन १८, ०७:०७ खबर संवाददाता

सुदुरपश्चिम प्रदेशमा भएको बर्षाले हिउँदे कृषि उपजहरुलाई फाईदा पुगेको छ । पहाडी जिल्लाहरुमा हिमापत सहितको बर्षा र तराईमा पनि असिना पानी सहितको बर्षा पटक पटक भएपछि यसले धेरै हिउँदे कृषि उपजहरुलाई फाईदा गरेको हो । तर आवश्यक सिंचाईभन्दा बढी पानी परेपछि दलहन बालीमा भने क्षति भएको छ । यसले मसुरो चना लगायतका दलहन बालीहरुको उत्पादन ३० देखि ३५ प्रतिशत घट्ने भएको छ । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पानी परेपछि किसान खुसी भएका छन् । गत असोज महिनापछि पानी नपरेको यस क्षेत्रमा पश्चिमी बायुको कारण हिउँदाको समयमा पटक पटक पानी परेको छ । हिउँदको समयमा ६ पटकभन्दा वढी पानी र हिमपात भएको छ । यसले अधिकांश हिउँदे बालीलाई फाईदा पुगेको कृषि प्राविधिकहरुको भनाई छ । तर दलहन बालीमा भने केही असर परेको छ । 
अछाम, बाजुरा, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला लगायतका क्षेत्रमा पानी संगै उच्च हिमाली क्षेत्रमा पटक पटक हिमपात भएको छ । यस क्षेत्रका पाखो बारीमा लगाएका सबै खेतीपाती पानी नपर्दा सुकिसकेका र सुक्ने अवस्थामा पुगेका थिए । हिँउदे बाली गहुँ, जौ, तोरी लगायत तरकारी खेतीमा समेत पानीले फाईदा पुगेको कृषि ज्ञान केन्द्र अछामका प्रमुख बिष्णुहरी देवकोटाले बताए । गहुँ लगायतका हिउँदे बाली छरेपछि पहिलो पटक पानी परेको छ । केही समय पहिले परेको भए अझै राम्रो हुने अवस्था रहेकोमा ढिलै भएपनि पानी पर्दा यसले हिउँदे बालीलाई राम्रो गरेको कृषि प्राविधिकहरुको भनाई छ । बारीको गहुँ, जौ लगायतका बाली सुक्ने अवस्थामा पुगेका वेला पानी परेपछि ठुलोे राहत मिलेको छ । केही तेल बालीमा क्षति पुगेपनि अन्य हिउँदे बालीको उत्पादन पनि बढ्ने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णवहादुर चन्दले बताए । 

अघिल्लो बर्ष पनि हिँउदमा बर्षा नभएपछि विभिन्न बालीको बीउ समेत जोगाउन कठिन परेको भन्दै यो बर्ष पनि चिन्तित भएका किसानहरु पानी परेपछि खुसी भएका छन् ।  बर्षाले हिउँदे बाली सप्रिनेमा किसानको आसा जागेको छ । बर्षाले मानिस र पशुपंक्षीलाई समस्या भएपनि खेतीबालीलाई भने फाईदा र्पुयाएको कृषकहरुले बताएका छन् । हिउँदे गहुँ, उवा, जौ तथा बर्खे आलु, मकै, सिमी लगायत बालीलाई बर्षा र हिउँखले सिचाईको काम गर्ने तथा उत्पादन बढ्ने कृषि प्राविधकहरुले बताएका छन् । तर यसले मसुरो चना लगायतका दलहन वालीलाई भने असर पुराएको छ । दलहनमा क्षति भएका कारण कैलाली कञ्चनपुरका ३० देखि ३५ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक शंकर अवस्थीले जानकारी दिए । 

सुदुरपश्चिम प्रदेशका सवै ९ जिल्लाहरुमा कुनैमा कम कुनैमा बढी पारेको छ । यो पानीले हिउँदे उत्पादनहरुलाई कुनै असर नपरेको बरु फाईदा गरेको कृषि निर्देशनालय दिपायले जनाएको छ । निर्देशनालयलाई गरिएको खवर अनुसार भने यसले हिउँदे बालीहरुलाई असर नपारे पनि दलहन बालीमा भने क्षति पुराएको कृषि निर्देशनालयका निमित्त प्रमुख गोपाल लामिछानेले बताए । 
 

कमेन्ट लोड गर्नुस