पासोले लियो ३ ज्यान, गर्भवती थिइन् चितुवा
बैतडीः बैतडीमा पासोमा परेर मरेको चितुवा गर्भवती रहेको खुलेको छ। बुधबार विहान दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा उक्त चितुवा फसेको थियो। तर, दिउँसो उद्धार गरेर खोरभित्र राखेपछि चितुवा मरेको डिभिजन वन कार्यालयका बैतडका सूचना अधिकारी श्यामसुन्दरी माझीले बताए।
यद्यपी चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको थियो। तर टोली नपुग्दै चितुवा मरेको थियो। चितुवाको मृत्यु भएपछि शव व्यवस्थापन गर्दा उनी गर्भवती रहेको खुलेको निमित्त प्रमुख माझीले जानकारी दिए। शवको पोष्टमार्टम गर्दा उनको पेटमा २ ओटा बच्चा भेटिएका छन्।
बैतडीमा बँदेलले अन्नबालीमा क्षति गर्न थालेपछि त्यहाँका स्थानीयले पासो थाप्ने गरेका छन्। सोही पासोमा विभिन्न समयमा चितुवा फस्ने गरेका छन्। उसो त जिल्लामा विगतदेखि नै चितुवा र मानवबीच द्वन्द बढीरहेको छ। बैतडीको तल्लो सोराडमा चितुवाले आतंक मच्चाएको खबर विभिन्न समयमा आउने गरेका छन्।