सुदूरपश्चिममा सवारी साधन चेकिङ प्रहरीको कमाउ धन्दा
सवारी साधनको अवस्थालाई खासै मतलब नगर्ने प्रहरीले कैलालीमा कागजपत्र चेकजाँचलाई कमाउ धन्दा बनाएको आरोप लागेको छ। पछिल्लो समय जनपद प्रहरी र ट्राफिक प्रहरीले सवारी साधनको कागजपत्र चेकजाँचलाई कमाउ धन्दा बनाएको आरोप लागेको हो। सवारी साधनको अवस्था ठिक छ छैन ? भन्ने कुरालाई खासै महत्व नदिने प्रहरीले दुर्घटना कम गर्ने भन्दै कागजपत्र चेकजाँचलाई कमाउ धन्दा बनाएको आरोप सर्वसाधारणको छ। संयुक्त चेकजाँचका नाममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले दुःख दिइरहेको अरोप लागेको हो। प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा दिनहुँ जसो हुने चेकजाँचका कारण हैरानी खेप्नु परेको गुनासो सर्वसाधारणको छ। उनीहरुले सवारी साधनको अवस्था ठिक छ वा छैन भन्ने विषयमा चासो समेत नदिने प्रहरीले सवारी चालक अनुमति पत्र लाईसेन्स र गाडीको कागजपत्रलाई लिएर अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन्।
प्रहरीले राजस्व संकलनका नाममा अनावश्यक दुःख दिएर सवारी साधन चेकजाँचलाई कमाउ धन्दा बनाएको कञ्चनपुरको बेलौरीका खडक शाहले बताए। उनले सुरक्षाका हिसाबले सवारी साधन र कागजपत्र चेकिङ गर्नु स्वभाविक भएपनि आनावश्यक दुःख दिनु राम्रो नभएको जनाए। प्रहरीले कारवाही गरे वापत उठाउने रकम समेत आफ्नो गोजीमा हाल्ने गरेको समेत उनको बुझाई छ। प्रहरीले शान्ति सुरक्षा कायम गर्न र दुर्घटना न्युनीकरणका लागि चेकजाँचलाई बढाईएको दावी गर्ने गरेपनि एउटै समयमा धनगढीका १० वटा भन्दा बढी स्थानमा एकै पटक गरिने चेकिङले गर्दा दुःख मात्र नभई अत्यावश्यक काम समेत छुट्ने गरेको कतिपयको गुनासो छ। धनगढीको उर्माका चन्द्र बहादुर शाहुले दिनुहु जसो हुने चेकिङले सास्ती खेप्नुपरेको गुनासो गरे।
प्रहरीले सवारी साधन चेकिङ मात्र नभई ठाउँ ठाउँमा अनावश्यक दुःख दिएर दोहोरो रकम समेत असुल्ने गरेको अरोप लागेको छ। डडेल्धुराबाट ट्रकमा काठ लिएर काठमाडौँका लागि हिडेका धनगढीका धर्म पडालले ढाला र भब्बर खुला राखेको भन्दै डडेल्धुरामा एक हजार रुपैया जरिवाना तिरेपनि कैलालीको मसुरियामा प्रहरीले फेरी रकम असुल्न खोजेको थियो। पडालले पटक पटक जरिवाना किन तिर्ने भनेपछि प्रहरीले मंगलबार ३ बजे कागजपत्र र काठ सहित नियन्त्रणमा लिएको ट्रक २० घण्टापछि छोडेको ट्रक धनी पडालले बताए। तर प्रहरी भने चेकिङ र राजश्व संकलनका नाममा सर्वसाधारणलाई दुःख दिएको कुरा स्वीकार गर्न तयार देखिदैन्। बरु उसले सुरक्षा सर्तकतालाई मध्यनजर गर्दै चेकजाँचमा कडाई गरिएको दावी गर्ने गरेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक केदार रजौलेले सर्वसाधारणलाई दुःख दिने उद्देश्यले नभई शान्ति सुरक्षा कायम गर्न चेकजाँचलाई बढाईएको दावी गरे। उनले सवारी साधनको अवस्था जाँच नहुनुमा सुरुमा कागजपत्र चेकिङमा अभ्यस्त पार्नुपर्ने आवश्यकता रहेको जनाए।विस्तारै प्रहरीले त्यसतर्फ पनि ध्यान दिन दावी प्रहरी उपरिक्षक रजौलेको छ। ट्राफिक प्रहरीले सवारी साधन चेकजाच गर्नु स्वभाविक भएपनि चेकिङका नाममा दुःख दिनु गलत भएको कतिपय जानकारको मत समेत रहेको देखिन्छ। तर धनगढीमा जनपद प्रहरीले समेत चेकिङका नाममा ज्यादती गरेको आरोप लाग्दै आएको छ । तर कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले भने जनपद प्रहरीले कागजपत्र चेकजाँच नगरेको जिकिर गरे। उनले आफूहरुले ट्राफिक प्रहरीलाई सधाउने गरेको मात्र बताए।