सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वीमा मेयरद्वारा कर्मचारी हेरफेर, कार्यपालिका सदस्यको आपत्ति

२०७९ साउन १३, ०९:१८ खबर संवाददाता

धनगढीः बझाङको जयपृथ्वी नगरपालिकामा मेयरले कर्मचारी पदस्थापन तथा हेरफेर गरेका छन्। स्वास्थ्य शाखाअन्तर्गतका कर्मचारीको पदस्थापन गरिएको हो। नगरप्रमुख चेतराज बजाल र कार्यकारी अमरराज जोशीले स्वास्थ्य शाखाका कर्मचारी हेरफेर गरेको बताइएको छ। 

नगरकार्यपालिकाका सदस्यले उक्त विषयमा आपत्ति जनाएका छन्। कार्यपालिका सदस्यलाई जानकारीसमेत नगराएर कर्मचारीको जिम्मेवारी परिवर्तन र एक ठाउँबाट अर्को ठाउँ सरुवा गराएको भन्दै कार्यपालिका सदस्यले आपत्ति जनाएका हुन्। नगर क्षेत्रभित्रका स्वास्थ्य चौकी तथा शाखामा कार्यरत जनक सिंह, भक्त रोकाया, नरेन्द्र थापा, दिनेश धामीलगायतका कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँ पठाउने र ल्याउने काम भएको छ। मेयर बजालले पार्टीगत रूपमा आफू निकट कर्मचारीलाई सदरमुकाम क्षेत्रभित्र ल्याएको र पार्टीगत रुपमा अन्य दलसँग आस्था राख्नेलाई सदरमुकाम क्षेत्र बाहिर पठाएको असन्तुष्ट कार्यपालिका सदस्य बताउँछन्।

विगतका स्वास्थ्य शाखा प्रमुख सिंहलाई नगरपालिका १ मा पठाएको नगरपालिकामै कार्यरत एक कर्मचारीले बताए। स्वास्थ्य शाखा प्रमुखमा रामचन्द्र जोशीलाई नियुक्ति दिने मेयर बजालको मनसाय रहेको ती कर्मचारीले बताए। ‘नगरपालिका क्षेत्रभित्रका विभिन्न शाखामा कर्मचारीलाई जिम्मेवारी दिने विषयमा सर्व सहमतिअनुसार गराउने भन्दै ११ साउनमा निर्णय भएको थियो तर मेयर र कार्यकारीले १२ गते नै निर्णय गरेछन्। यो विषयमा हामीलाई कुनै जानकारी दिइएन’ एक कार्यपालिका सदस्यले भने।

नगरप्रमुख बजालले भने उक्त विषय आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भएकोले एकल निर्णय गरेको बताए।

कमेन्ट लोड गर्नुस