सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरो खस्दा दार्चुलामा एकको मृत्यु, दुई घाइते

२०७५ फाल्गुन १४, ०८:२३ नरेन्द्र कार्की

दुहुँ गाउँपालिका वडा नम्बर ३ स्थित निर्माणाधीन दार्चुला तिंकर सडकको राताकाठामा पहिरो खस्दा एक जना यात्रुको आज बिहान अढाई बजे घट्नास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नौगाड गाउँपालिका ४ सिप्टी घर भएका ३९ वर्षीय रघुबीरसिह धामीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। खलंगाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लगेर जान लागेका धामीको सडकमाथिबाट आएको पहिरोका कारण घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए। यस्तै नौगाड ४ कै ३१ वर्षीय मानसिह ठगुन्ना र वडा नम्बर ३ का उधारो ठगुन्ना घाइते भएका छन्।

घाइते भएका उधारो ठगुन्नाको टाउँकोमा चोट लागेको कारण बाहिर रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका हेअ डम्मरदत्त भट्ले जानकारी दिए । यस्तै मानसिह ठगुन्नाको हातको औलामा चोट लागेको छ। घटनास्थलतर्फ प्रहरी परिचालन भएको जनाइएको छ। व्यास क्षेत्रमा वनजंगल बढि भएको कारण भेडापालक कृषकहरुले चरिचरनको लागि भन्दै त्यस क्षेत्रमा गएको बताएका छन्। निर्माणाधीन दार्चुला तिंकर सडकमा दिउँसो विष्फोटक पदार्थ पड्काउने गरेको कारण बाटो अवरुद्ध छ।

दिउँसो ओहोरदोहोरमा समस्या हुने गरेको कारण उनीहरु राती त्यही बाटो भएर व्यास गइरहेका हुन्। सोमबार मात्र सो सडकमा विष्फोटक पदार्थ (जेलेटिन) विष्फोटक गराइएको दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए। सडक सफा गरिएको थिएन्। सडक चौडा पार्ने काम भइरहेको छ। राती पानी परेको कारण पहिरो खसेको हुन सक्ने उनको भनाई छ।

 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस