सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराकको संसद भवन छिरे प्रदर्शनकारी, नाचगान गर्दै टेबलमै सुते

२०७९ साउन १२, १२:५७ खबर संवाददाता

काठमाडौँः इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल(सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्।

गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ। प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।

इराकका प्रधानमन्त्री मुस्तफा अलखादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन्। भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेका थिए। त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन। एजेन्सी

कमेन्ट लोड गर्नुस