म्यानमारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड
एजेन्सी: म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ। सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो। तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो भनेर आधिकारिक रूपमा खुलाइएको छैन।
आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पूर्व सांसद फ्यो जेया था, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ्ग र आङ्ग थुरा जालाई मृत्युदण्ड दिइएको सरकारी समाचार संस्था ग्लोबल न्युज लाइट अफ म्यानमारले जनाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो।
गएको जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेका थिए। म्यानमारमा सन २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। आङ सान सुकीले नेतृत्व गरेको नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी)को नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएको थियो।
सैन्य 'कु' को विरोधमा गठन गरिएको छायाँ सरकारले मृत्युदण्डको निन्दा गरेको छ। ती चार जनाको परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका बीबीसीले जनाएको छ। पूर्व सांसद फ्योकी श्रीमती थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताएकी छिन्।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले चार जनालाई मृत्युदण्ड दिने निर्णय व्यक्तिको जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकारको निर्मम हनन भएको प्रतिक्रिया दिएका छन्। सैन्य 'कु' यता सुकी नजरबन्दमा छिन्। उनीमाथि भ्रष्टाचारलगायतका आरोपहरू लगाइएको छ। ती सबै आरोपमा दोषी ठहरिए उनलाई १ सय ५० वर्षसम्मको जेल सजाय हुनसक्छ।