प्रदेश सरकारले आज तीन महिनाका लागि बजेट ल्याउदै
प्रदेश नम्बर ७ को सरकारले आईतवार चालु आर्थिक बर्षको ३ महिनाका लागि अल्पकालिक बजेट ल्याउने भएको छ। आईतवार संसद बैठकमा प्रस्तुत गरीने बजेटका सम्बन्धमा सम्पूर्ण तयारी पुरा भईसकेको आथिर्क मामिला तथा योजना मन्त्रालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सरकारले ल्याउने बजेट कनिका छरे जस्तो नहुने दावी गरेका छन्।
उनले कनिका छरेझै बिनियोजित बजेटले उपलब्धी प्राप्त नहुने नजिर रहेकोले प्रदेश सरकारले यसपटक सुझबुझका साथ जनमुखी र प्रदेशका वासिन्दालाई सरकारको अनुभुती हुने खालको बजेट ल्याउने तयारी रहेको दावी गरे। ७ नम्बर प्रदेश सरकारले ३ महिनाका लागि १ अर्ब २ करोडको बजेट ल्याईरहेको हो। बजेटमा दीर्घकालीन ठुला योजनाहरु भन्दा तत्काल अनुभूति गर्न सकिने कार्यक्रमहरु समावेश गरिएको दावी गरिएको छ।
सबैभन्दा बढी प्राथमिकता कृषि क्षेत्रलाई दिईएको बताईएपनि शिक्षा, स्वास्थ्य र पर्यटनलाई पनि प्राथमिकता दिएको बजेट समाजवाद उन्मुख रहेको मन्त्री बोहराले बताए। प्रदेश सरकारले फाष्ट ट्रयाकबाट ल्याईरहेको बजेट खर्च गर्नका लागि ३ महिनाको मात्रै समय रहको छ । तर आवश्यक कानून नबनिसकेका कारण बिनियोजित बजेट कुन सम्यन्त्रबाट कसरी खर्च गर्ने भन्नेमा अझै अन्यौलता कायमै छ ।
तर मन्त्री बोहरा भने आवश्यकता अनुसार विभिन्न सयन्त्रबाट बजेट खर्च गरिने बताउछन्। सानो आकारको बजेट भएपनि प्रदेश सरकारले पहिलो पटक बजेट ल्याईरहेको यसलाई धेरैले महत्वका साथ हेरिरहेका छन्। मन्त्री बोहराले दावी गरेझै आईतवार सार्वजनिक हुने बजेटबाट प्रदेशका जनताले सरकार भएको अनुभुती गर्नेछन अथवा गर्नेछैनन त्यो भने समयले नै बताउनेछ ।