सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीसमक्ष पीडित पतिको चित्कारः मेरी श्रीमतीबाट मलाई बचाइदिनुहोस्

फाइल फोटो
फाइल फोटो
२०७९ साउन ७, ०६:२२ खबर संवाददाता

धनगढीः श्रीमतीबाट गम्भीर रूपमा कुटपिट र अत्याचार भोगेका एक युवकले प्रहरीसमक्ष आफ्नो चित्कार सुनाएका छन्। भारतको उत्तर–प्रदेश राज्यस्थित महाराजगञ्जको एउटा चौकीमा ती युवकले आफूलाई श्रीमतीले घरभित्र अमानवीय व्यवहार गर्दै आएको बताएका छन्। उनले श्रीमतीविरूद्ध स्थानीय प्रहरी कार्यालयमा उजुरी पनि दर्ता गराएका छन्।

पटकपटक श्रीमतीबाट निर्घात कुटिएका उनी चर्को यातना सहन नसकेर अन्ततः प्रहरीसमक्ष आएको बताउँछन्। सिन्धुरिया चौकीका इन्स्पेक्टर रामकृष्ण यादवका अनुसार श्रीमतीले आफूलाई दिनहुँ लाठीले कुट्ने गरेको ती युवकले बताएका हुन्। उनले आफूलाई श्रीमतीबाट बचाउन पनि प्रहरीसँग आग्रह गरेका छन्। श्रीमतीले सानातिना कुरामा सँधै झगडा मच्चाउने गरेको उजुरीमा उल्लेख छ।

‘सर,मलाई श्रीमतीबाट बचाउनुहोस्। अमानवीय व्यवहार गर्छे। कुटपिट गर्छे। धम्की दिन्छे। बूढी आमालाई पनि सताउँछे। बच्चाहरूको हेरचाह गर्दिन। दिनभर फोनमै झुम्मिन्छे,’ चौकी पुगेर युवकले प्रहरी अधिकृतसँग हारगुहार गरेका छन्। युवक केही दिनदेखि श्रीमतीबाट अलग्गै बस्दै आएका छन्। श्रीमान–श्रीमतीको तिक्तता र युवकको चित्कार सुनेर प्रहरी पनि अलमलमा परेको छ। उता युवककी श्रीमतीसँग प्रहरीले सम्पर्क गर्दा कुटपिट र अत्याचारको आरोप निराधार भएको बताएकी छन्।

श्रीमानले दलालको प्रस्तावमा पैतृक सम्पत्ति बेच्न खोजेको आरोप उनको छ। युवकले पटक पटक ससुरासँग गुनासो गरे पनि उनलेसमेत छोरीकै पक्ष लिएको बताइन्छ। श्रीमानको उजुरीको आधारमा सिन्धुरिया प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर श्रीमतीमाथि छानबिन गरिरहेको इन्स्पेक्टरले बताए।

कमेन्ट लोड गर्नुस