खाद्यान्न निर्यात खुलाउन रुस–युक्रेनबीच सम्झौता
एजेन्सी: रुस र युक्रेनले कृष्ण सागरमा रहेको युक्रेनी बन्दरगाहबाट खाद्यान्न निर्यात पुनः सुचारु गर्ने विषयमा सम्झौता गरेका छन्। दुई युद्धरत पक्षधरका प्रतिनिधिहरु यस विषयमा छलफलको लागि टर्कीको इस्तानबुल पुगेका थिए।
त्यहाँ उनीहरुले सहमतिमा अलग अलग रुपमा हस्ताक्षर गरे। उनीहरु एउटै टेबलमा बसेनन्। न त सम्झौता सम्पन्न भएपछि हात मिलाउने कार्यक्रम नै भयो। युद्ध मोर्चामा लडिरहेका मुलुकका प्रतिनिधि भएकाले यस्तो कदम उठाइएको बुझिएको छ। दुई पक्षीहरूबीच कायम गहिरो शत्रुता र अविश्वासलाई देखाउने संकेत पनि थियो। सम्झौता गरिँदा एक अर्काको झुण्डलाई पृष्ठभूमिमा राख्ने परम्परा पनि पालना गरिएन।
दुई पक्ष बीचमा बरु संयुक्त राष्ट्रको ब्यानर राखिएको थियो।सम्झौता हस्ताक्षर कार्यक्रममा टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगान पनि उपस्थिति थिए। हस्ताक्षर पछि उनले युक्रेनी बन्दरगाहबाट अन्न निर्यात सुचारु हुन थालेपछि विश्वमा बढ्दो भोकमरीको जोखिम कम हुने र विश्वव्यापी बढ्दो खाद्यान्नको मूल्य कम हुने बताए। दुई युद्धरत मुलुकसँग जोडिएको महत्वपूर्ण मुद्दामा सहमति गराउन एर्दोगानले विशेष पहल गरेका थिए।