सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको उग्रतारा माविमा तनाव, विद्यालय घेराउपछि प्रधानाध्यापकद्वारा राजीनामा 

२०७९ साउन १, ०३:५७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको उग्रतारा माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। प्रधानाध्यापक चन्द्रबहादुर शाहुले विद्यालयमै लेखापाल टीका ऐरमाथि कुटपिट गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्। 
अमरगढी नगरपालिका–७ मा रहेको उग्रतारा माविमा लेखापाललाई कुटपिटपछि स्थानीय आक्रोशित भएका छन्। आइतबार बिहान प्रधानाध्यापकको राजीनामा माग्दै आफूहरुले ताला लगाएको स्थानीय शेरबहादुर भण्डारीले बताए।

स्थानीयले विद्यालय जस्तो ठाँउमा हातपात गरेको घटना निन्दनिय रहेको भन्दै प्रधानाध्यापको राजीनामा मागेको उनले बताए।  कुटपिटबाट लेखापाल ऐर घाइते भएका छन्। उनको खुट्टा, पिठ्युमा चोट लागेको स्थानीयले बताएका छन्।

कुटपिटको कारण भने लेखापाल ऐरले मदिरा सेवन गरी बिहीवार साँझ आफूलाई समेत गालीगलौज गर्नका साथै आफनो चरित्र हत्या गरेको प्रधानाध्यापक चन्द्रबहादुर शाहुले बताएका छन्। प्रधानाध्यापक शाहुले लेखापालले विद्यालयको हिसाबकिताब दुरुस्त राख्न नसक्ने गरेको गुनासो आफुसँग आएको बताएका छन्। 

स्थानीयले आइतबार विद्यालय घेराउ गर्दै प्रधानाध्यापकको राजीनामा माग्दै विद्यालय प्रशासनमा ढुंगामुढा समेत गरेका छन्। चर्को दबाबका कारण प्रधानाध्यापक चन्द्रबहादुर शाहुले आफ्नो पदबाट राजीनामा दिइसकेका छन्। यस्तै विद्यालयका व्यवस्थापन समिति अध्यक्षले पनि आफ्नो पदबाट राजीनामा दिने बताएका छन्। अहिले विद्यालयमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  विद्यालयमा तालाबन्दीका कारण विद्यार्थीको पढाई प्रभावित भएको छ।

कमेन्ट लोड गर्नुस