इरानमा कुकुर पाले जेल, हिँडाउनु पनि ‘अपराध’
एजेन्सीः इरानको राजधानी तेहरानमा पार्कमा कुकुरहरू हिँडाउने कार्यलाई ‘अपराध’ घोषणा गरिएको छ। प्रहरीले यो प्रतिबन्ध ‘जनताको सुरक्षा’का लागि आवश्यक भएको जोड दिएको छ।
उता यही समय महिनौँको बहस पछि, संसदले चाँडै ‘जनावरविरुद्ध मानव अधिकारको संरक्षण’ नामक विधेयकलाई अनुमोदन गर्न लागेको छ। कानुनमा देशभरका घरमा कुकुर, बिरालोजस्ता जनावर पाल्ने कार्यसमेत अपराध मानिने प्रावधान छ। प्रस्तावित कानुन अनुसार घरपालुवा जनावर पाल्न चाहनेहरूले त्यसबारे निर्णय गर्न बनाइने विशेष समितिबाट अनुमति लिनुपर्नेछ। यो कानुन अनुसार बिरालो, कछुवा, खरायो जस्ता धेरै जनावरहरू ‘आयात, बिक्री, ढुवानी र पालना’ गरेमा कम्तीमा पनि ८०० डलर जरिवाना हुनेछ।
इरानी भेटनरी एसोसिएसनका अध्यक्ष डा पायम मोहेबी विधेयक आउन लागेकोमा खुसी छैनन्। ‘यो विधेयकमाथिको बहस करिब एक दशकअघिदेखि सुरु भएको थियो। त्यसबेला इरानका सांसदहरूको एउटा समूहले सबै कुकुरलाई समातेर चिडियाखानामा थुन्ने वा मरुभूमिमा छोड्ने कानुन बनाउने प्रयास गरेका थिए ,’ मोहेबीले भने। इरानमा प्राचीन समयदेखि नै कुकुर पाल्ने चलन रहँदै आएको भए पनि पछिल्लो शताब्दीमा सहरहरू घरपालुवा जनावर पाल्नु जीवनशैलीको प्रतीक बनेको छ।
इरानले सन् १९४८ मा पशु कल्याण कानुन बनाउँदा पश्चिम एसियाका थोरै देशहरूमा मात्र त्यस्तो कानुन थियो। यसपछि, सरकारले पशु अधिकार प्रवर्द्धन गर्न एक संस्था नै निर्माण गरेको थियो। राजतन्त्र रहुन्जेल शाही परिवारले पनि थुप्रै कुकुर पालेका थिए। तर, सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका जनता र कुकुरहरूको जीवनसँग सम्बन्धित धेरै कुराहरू परिवर्तन सुरु हुन थाल्यो। इस्लाममा जनावरहरूलाई ‘अपवित्र’ मानिने भएकाले नयाँ गठित इस्लामिक सरकारले कुकुर पालनलाई ‘पश्चिमीकरण’को प्रतीकको रूपमा हेर्न थाल्यो। त्यसैले अधिकारीहरूले यो प्रवृत्तिलाई रोक्न खोजेका थिए।