बैतडीको बेरुजु सवा ४८ करोड
बैतडीः बैतडीका स्थानीय तहमा ४८ करोडभन्दा बढी बेरुजु रकम देखिएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहमा आर्थिक वर्ष २०७७/७८ मा ४८ करोड २४ लाख ८० हजार बेरुजु रकम देखिएको हो।
आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलाशैनी गाउँपालिकामा देखिएको हो। उक्त पालिकामा १० करोड २४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ। यस्तै पुर्चौडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ। जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४२ हजार बेरुजु देखिएको छ भने सुर्नया गाउँपालिकामा ६ करोड ३० लाख ३० हजार बेरुजु देखिएको छ।
पञ्चेश्वर गाउँपालिकामा ४ करोड ७३ लाख ३८ हजार बेरुजु देखिएको छ भने मेलौली नगरपालिकामा ३ करोड ६५ लाख ३८ हजार बेरुजु देखिएको छ। यसैगरी जिल्लाको दशरथचन्द नगरपालिकामा २ करोड २९ लाख ३६ हजार, शिवनाथ गाउँपालिकामा २ करोड ४ लाख ३१ हजार र पाटन नगरपालिकामा १ करोड ७१ लाख ८७ हजार बेरुजु देखिएको छ। दोगडाकेदार गाउँपालिकामा १ करोड २२ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ।