सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन आईएमएफ सहमत

२०७९ असार ३०, १०:४३ खबर संवाददाता

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन सहमत भएको छ। आईएमएफसँग ६ अर्ब डलरको ऋण सम्झौतामा हस्ताक्षर भएकाले पाकिस्तानले पहिलो किस्ताबापतको एक अर्ब ७७ करोड डलर छिटै प्राप्त गर्ने बीबीसी हिन्दीले जनाएको छ।

यसअघि सन् २०१९ मा आईएमएफ र पाकिस्तानबीच ६ अर्ब डलरको ऋण सम्झौता भए पनि आधा रकम भुक्तानी गरेपछि आईएमएफले सम्झौता रद्द गरेको थियो। 

पाकिस्तानको ऋण तिर्ने क्षमता कम हुँदै गएको भन्दै अन्य अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक साझेदार संस्थाले ऋण दिन अस्वीकार गर्दै आएका थिए। 

यसअघिका प्रधानमन्त्री इमरान खानको सरकार हुँदा सम्झौता रद्द भए पनि अहिले प्रधानमन्त्री शहबाज शरिफले पुनः छलफल अघि बढाएपछि आईएमएफ ऋण दिन तयार भएको खबरमा उल्लेख छ।

ऋण सम्झौताले पाकिस्तानको आर्थिक सङ्कटलाई पार लगाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री शहबाजले बताएका छन्। 

ऋण सम्झौताका लागि कडा मेहनत गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शहबाजले वित्त र विदेशमन्त्रीसहित कर्मचारीलाई बधाई र धन्यवाद दिएका छन्। 

कमेन्ट लोड गर्नुस