सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी नगर विकासले २०५४ मै तोकेको थियो सडकको क्षेत्राधिकार

२०७९ असार २५, १०:२१ नारायण अवस्थी

धनगढी: २०५४ मा कैलालीको धनगढी नगर विकास समितिको अध्यक्षमा खेमराज पाण्डेय नियुक्त भएका थिए। उनको कार्यकालमा पहिलोपटक धनगढीका विभिन्न सडकको क्षेत्राधिकार तोकिएको पाइएको छ। धनगढी बजारको मुख्य सडक हरिप्रसाद पाण्डे नगर विकास समितिको अध्यक्ष हुँदा २०५२ मा ७५ फिटबाट घटाएर ४५ फिट कायम गरिएको भए पनि अन्य सडकको चौडाइबारे कुनै निर्णय भएको देखिँदैन। 

तर २०५४ मा भने नगर विकासले बजारको मुख्य सडकबाहेक धनगढीका विभिन्न सडकको क्षेत्राधिकार तोकेको पाइएको छ। २०५४ मा नै नगर विकास समितिले जग्गा प्लटिङ गर्दा कम्तिमा ६ मिटरको सडक कायम गर्न नगरपालिकालाई सिफारिस गरेको थियो। धनगढी उपमहानगर घोषणा नहुञ्जेलसम्म नगर विकासको भित्री सडकको चौडाई २० फिट हुनुपर्ने निर्णय नगरपालिकाले उल्लंघन गर्दै आएको तथ्य भेटिएको छ। 

२०५४ असार १५ गते धनगढी नगर विकास समितिको अध्यक्षमा तत्कालिन नगर प्रमुख खेमराज पाण्डेय नियुक्त भए। उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, सदस्यमा क्रमशः तत्कालिन प्रमुख जिल्ला अधिकारी धर्मराज ढुङ्गाना, केदारप्रसाद श्रेष्ठ, जयन्द्रबहादुर स्वाँर, दीर्घराज जोशी, प्रेम जोशी, करवीर भण्डारी, गोविन्द रानाथारू, हर्कबहादुर विष्ट, जगदिशचन्द्र जोशी, जनक कुँवर, सरस्वती विष्ट, साम्राज्यविक्रम पाण्डे, रघुचन्द्र झा, तत्कालिन धनगढी नगरपालिकाका कार्यकारी अधिकृत गणेशबहादुर खड्का, तत्कालिन भूमि सुधार कार्यालयका देवीभक्त कोइराला, जिल्ला कृषि विकास कार्यालयका रामप्रकाश सिंह, मालपोत कार्यालयका कृष्णप्रसाद श्रेष्ठ, विद्युत्त प्राधिकरणका सन्तोषकुमार पाण्डे, खानेपानी कार्यालयका तिरेशप्रसाद श्रेष्ठ, जिल्ला विकास समितका कान्ता रिमाल, दूरसञ्चार कार्यालयका रामसिंह थापा, नापी शाखाका कृष्णमुरारी पन्त र जिल्ला भवन कार्यालयका प्रमुख किसनसिंह गुरुङ समितिको सदस्य सचिव रहेका थिए।

खेमराज पाण्डेयको अध्यक्षतामा २०५४ असार १६ गते नगर विकास समितिको पहिलो बैठक बसेको देखिन्छ। त्यो बैठकमा आवास तथा सहरी विकास विभागबाट धनगढी नगरपालिकाभित्र नयाँ सडक खोल्न भनेर ४५ हजार बजेट आएकोले त्यो बजेटबाट नयाँ बाटोको  सीमा छुट्याउन सिमेन्टको पिल्लर निर्माण गर्ने निर्णय भएको छ। 

पहिलो बैठकमा नगर विकास समितिको सटर प्रयोग गरिरेहेका व्यापारीले सटर भाडा घटाउन पेश गरेको प्रस्ताव अस्वीकृत गर्ने अर्को निर्णय भएको छ। पहिलो बैठकले नै धनगढी नगर विकासका नाममा परेका मुद्दामा बहस गर्न अधिवक्ता सूर्यप्रसाद भण्डारी मासिक १ हजार ५ सय दिने निर्णय गरिएको पाइएको छ।

२०५४ साउन ७ गतेको नगर विकास समितिको बैठकले आर्थिक वर्ष २०५३/५४ को यथार्त आय–व्यय अनुमोदन गर्दै आर्थिक वर्ष २०५४/५५ को लागि अनुमानित आय–व्ययको विवरण पारित गरेको देखिन्छ। 
नगर विकास समितिले व्ययतर्फ तलबमा २ लाख ५३ हजार, भत्तामा २ लाख ५० हजार, दैनिक भ्रमण भत्तामा ३५ हजार, पानी र बिजुलीको महसुल शिर्षकमा ४० हजार तथा अन्य  गरी आर्थिक वर्ष २०५३/५४ मा नगर विकासले ३५ लाख ६३ हजार ४७० खर्च गरेको देखिएको छ।

२०५४ असोज १ गते बसेको धनगढी नगर विकासको बैठकमा एकीकृत कार्यमुलक योजना तयार गरी सिफारिस भएअनुसार धनगढी नगर विकास समिति क्षेत्रभित्रका विभिन्न सडकको अधिकार क्षेत्र(राइट अफ वे) तोकेको थियो। जसअनुसार २०५४ सालमा धनगढीको मोहनापुल गेटा सडकको चौडाई ५० मिटर कायम गरिएको थियो भने विशालनगर–चटकपुर–बोराडाँडी सडक, पूरानो भन्सार सडक, बैयाँबेहडी–हुलाकी सडक र सरस्वती नगर–चन्दननाथ मिल सडकको चौडाई १० मिटर कायम गरिएको थियो। 

यस्तै पिपलचौतारी–सरस्वतीनगर सडकको चौडाई ६ मिटर, कब्रस्तान–कृष्णमन्दिर–त्रिवेणी चोक सडकको चौडाई ९ मिटर, पशुपति मन्दिर– त्रिवेणी चोक–शान्तीनगर सडकको चौडाई १० मिटर, अदालत–धनगढी गाउँ–बंगरा कटान सडक, हुलाकी रोड नैनादेवी सडक र सेती अस्पताल–टिसिएन सडकको चौडाई ९ मिटर हुने निर्णय गरिएको थियो। 

यसैगरी नगर विकास समितिले २०५४ सालमै जिल्ला विकास समिति–कभर्ड हल सडकको चौडाई १६ मिटर हुने निर्णय गरेको पाइएको छ। यस्तै रातोपुल उत्तर बेहडी सडकको चौडाई १२ मिटर तोकेको नगर विकासले हुलाकी सडकको अधिकार क्षेत्र २४ मिटर हुने निर्णय गरेको थियो। 

नगर विकास समितिले विभिन्न २२ वटा सडकको क्षेत्राधिकार २०५४ मा तोकेको थियो भने १९ वटा प्रस्तावित सडकको चौडाई कम्तिमा १० मिटर बढीमा १६ मिटर तोकेको देखिन्छ। यसैगरी नयाँ बस्तीका लागिभित्री जग्गा प्लटिङ गर्नुपरे कम्तिमा ६ मिटरको सडक कायम गर्न नगरपालिकालाई सिफारिस गरेको थियो। 

२०५४ असोज १ मै सर्वसाधारणले प्रयोग गर्दै आएको तर बाटोको रुपमा लगत कट्टा नभएका पुराना बाटालाई सार्वजनिक बाटोको रुपमा लगत कट्टा गरिदिन सम्बन्धित निकायहरूमा लेखि पठाउने निर्णय गरिएको थियो।
खेमराज पाण्डेय धनगढी नगर विकास समितिको अध्यक्ष रहँदा पूरानो विमानस्थलका विभिन्न ९ घडेरी बिक्री गरिएको पाइएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस