धनगढीको पूर्वाधार बजेट ४१ करोड, पुरानो ऋण ४० करोड
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले पूराना योजनाको काम सम्पन्न गर्नेगरि आगामी आर्थिक वर्ष २०७९/८० का लागि नगर सभामा बजेट पारित गरेको छ। उपमहानगरले पूर्वाधार विकास क्षेत्रका लागि ४१ करोड बजेट विनियोजन गरेकोमा ४० करोड रकम भने पूराना योजनाको ऋण तिर्न खर्च हुने देखिएको छ।
उपमहानगरपालिकाले पुराना ठेक्का भएका योजनाको ४० करोड भुक्तानी गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको हो। २ करोड खोला–नाला अतिक्रमण खाली गराउन र ५० लाख कैलाली खोलामा फुटपाथ निर्माण गर्न विनियोजन गर्नुबाहेक अन्य नयाँ योजनाहरु नगर सभामा पेश भएका छैनन्। नगर प्रमुख गोपाल हमालले पूनारो ऋण चुक्ता गर्ने उपमहानगरपालिकाको नीति अनुसार बजेट नगर सभामा पेश गरेको बताए। उनले सामुदायिक पशुचौपायाको व्यवस्थापनमा बजेट विनियोजन बाहेक अन्य योजनाहरु आगामी आर्थिक वर्षमा नभएको बताए।
नगर सभामा पेश भएको बजेटप्रति उपप्रमुख कन्दकलाकुमारी रानाले विरोध गरेकी छिन्। उनको विरोधमा एमालेका नगर सभा सदस्य समेतले सहमति जनाएका छन्। बजेटमाथिको छलफल सुरु नहुँदै रानाले नगर प्रमुख र प्रमुख प्रशासासकीय अधिकृतको कार्यशैलीप्रति असन्तुष्टी जनाएकी हुन्। रानाले नगरपालिकाको बजेटमा आफुसँग छलफल नगरेको गुनासो गरेकी छिन्। उनले २० बुँदे विमति पत्र नगर सभामा सुनाएकी छिन्।
धनगढी उपमहानगरपालिकाले आर्थिक विकासतर्फ १४ करोड ४५ लाख ११ हजार, सामाजिक विकासतर्फ ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ४१ करोड ४१ लाख २७ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७ करोड ६३ लाख ४३ हजार र कार्यालय सञ्चालमा ४४ करोड ८० लाख बजेट विनियोजन गरेको छ। उपमहानगरको नीति तथा कार्यक्रम अनुसार एक अर्ब ८३ करोड ८९ लाखकोब जेट नगर सभामा पेश भएको छ।
नगर सभामा एक अर्ब सात करोड २३ लाख चालु तथा ७८ करोड ६६ लाख को पूँजीगत बजेट नगर सभामा पेश भएको छ।