धनगढीमा निर्माण भएको डेढ महिनामै भत्कियो हुलाकी सडकको नाली
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१९ मा हुलाकी सडकको नाली निर्माण भएको डेढ महिनामै भत्किएको छ। मंगलबार परेको पानीले फूलबारी आधारभूत विद्यालय अगाडिको एक सय १२ मिटर ढलान नाली भत्किएको हो।
बेलीदेखि आई गाउँसम्मको १९ किलोमिटर लामो हुलाकी सडकको दर्जन बढी ठाउँमा नाली निर्माण नगरी छोडिएको छ। स्थानीयले हुलाकी सडकको बेली पुल–आई गाउँ दोस्रो प्याकेजको सडक निर्माणको काम निकै सुस्त भएको गुनासो गरेका छन्।
धनगढीको बेली पुल–फूलबारी आई गाउँसम्मको १९ किलोमिटर सडक स्तरवृद्धिको ठेक्का निश्चल स्वच्छन्द जेभीले पाएको छ। धनगढीको क्याम्पस चोकदेखि कालिका मन्दिरसम्मको पहिलो प्याकेजमा चार लेनमा स्तरवृद्धिको काम अलपत्र छोडिएका बेला दोस्रो प्याकेजको ठेक्काको काम पनि सुस्त छ।
सम्झौतामा २०७९ पुस मसान्तमा सडक निर्माणको काम पूरा गर्नुपर्ने छ। तर, अहिलेसम्म सडकमा दोहोरो नाली निर्माणसमेत पूरा भएको छैन। निर्माण भएको नाली पनि एक दिनको वर्षाले भत्काएको छ। फूलबारी आधारभूत विद्यालय अगाडि एक सय १२ मिटर ढलान गरिएको नाली क्षणभरको पानीले भत्किएको वडा नम्बर १९ का स्थानीय वीरबहादुर विष्टले बताए। ‘पहिलो दिनकै पानीले ढलान गरेको नाली भत्किएको छ। सडक निर्माण पनि निकै सुस्त भइरहेको छ,’ उनले भने, ‘कमसल काम भएर होला १ सय १२ मिटर नाली भत्किएको कामको गुणस्तर राम्रो होस् भनेर सम्बन्धित निकायको ध्यान जानुपर्छ भन्ने हाम्रो माग छ।’
हुलाकी सडकको बेली–फूलबारी सडकखण्डमा दर्जन बढी ठाउँमा नाली निर्माण गर्न छोडिएको छ। जसकाकारण बर्सातको पानी स्थानीयको घरभित्र जान थालेको गुनासो गरिएको छ। सडक तथा नालीको पानी घरभित्र पस्ने चिन्ताले सताउने गरेको फूलबारी २५ घरका स्थानीय त्रिभुवन रानाभाटले बताए। ‘हुलाकी सडकको फूलवारी क्षेत्रमा धेरै ठाउँमा नालीमा बिजुलीको पोल र रुख पर्ने भन्दै बनाउन छोडिएको छ,’ उनले भने, ‘यसरी नाली निर्माण नगर्दा धेरै घरमा नालीको भेल पस्ने गरेको छ। अधुरो नाली पूरा गरे हामी निकै खुसी हुनेथियौँ।’
क्याम्पस चोक–बेली पहिलो प्याकेज, बेलीपुल– आई गाउँ दोस्रो प्याकेज, आईगाउँदेखि कटनी पुलसम्म तेस्रो प्याकेज र कान्द्रापुलदेखि सत्तीसम्म चौथो प्याकेजमा ठेक्का सम्झौता भएको छ। तर सबै प्याकेजमा काम भने निकै सुस्त गतिमा भइरहेको छ। कामको गति पनि सुस्त निर्माण गरिएको नालीसमेत भत्किने भन्दै स्थानीय आक्रोसित भएका छन्।
तर निर्माण कम्पनी निश्चल स्वच्छन्द जेभीका सञ्चालक गणेशदत्त जोशीले ६ महिनाको म्याद थप भए एक वर्षमा सबै काम सक्ने बताएका छन्। ‘हामीले नाली निर्माण र माटो भरानको काम सँगसँगै गरिरहेका छौँ, केही ठाउँको नाली बनाउन बाँकी छ, हाम्रो काम निरन्तर नै भइरहेको छ, उनले भने, ‘भत्किएको नाली फेरि बनाउँछौँ, कमसल कामभन्दा पनि माटो राम्रोसँग पेल्न नपाउँदा पानी पर्दा नाली ढलेको हो।’
नाली निर्माण नभएको र निर्माण भएको नाली भत्किएको घटनाबारे हुलाकी सडक योजना कार्यालय जानकार छ। नाली निर्माण गर्नुपूर्व सडकमा माटो पेल्ने काम राम्रोसँग नगर्दा ढलान गरेको नाली भत्किएको बताइएको छ। निर्माण कम्पनीलाई नाली पुनः निर्माण गर्न लगाउने हुलाकी सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पदमबहादुर मडैले बताए।
‘हुलाकी सडकको नाली भत्किएको छ त्यो निर्माण कम्पिनीले नै बनाउनुपर्छ। पानी पर्दा बाहेक अन्य समयमा काम पनि निरन्तर भइरहेको छ,’ उनले भने, ‘नाली निर्माण गर्न छुटेको ठाउँमा तुरुन्त बनाउन भनिसकेका छौँ।’