रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु, कयौं अलपत्र
धनगढीः भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ। भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसै गरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुरसहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताइएको छ।
रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ। जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो।
भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए। अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडीआरएफ, एसडीआरएफ र नोनी जिल्लाका स्थानीयहरूले पनि खोजी कार्यमा सक्रियता पूर्वक जुटिरहेको जनाइएको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख्यमन्त्री एन बिरेन सिंहसँग मणिपुरमा लगातार वर्षाका कारण आएको पहिरोको अवस्थाको समीक्षा गर्दै केन्द्र सरकारबाट पूर्ण सहयोगको आश्वासन दिएका छन्।