सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आकाशियो उपभोग्य वस्तुको मूल्य, भान्सा चलाउनै मुस्किल

२०७९ असार ७, १०:०४ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। दैनिक प्रयोगमा आउने खानेतेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल र दुग्धजन्य वस्तुको मूल्य भएको हो। 

कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महङ्गी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिकी चलाउन मुस्किल हुन थालेको स्थानीय माया रोकायाले बताइन्। 'महङ्गी निकै बढेर दैनिक खर्च चलाउनै मुस्किल हुन थालेको छ,' उनले भनिन्, 'आम्दानी बढेको छैन, खर्च दिनकै बढेको छ।'

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको कारण भान्साको खर्च धान्न मुस्किल हुन थालेको सर्वसाधारणले गुनासो गरेका हुन्। आम्दानीका अवसर बढ्न नसकेको तर ढाड भाच्ने महङ्गीले  हातमुख जोर्न समस्या हुन थालेको हो। 

एक वर्षदेखि दैनिक उपभोग्य वस्तुमा मूल्य निरन्तर बढ्दा घर खर्च चलाउन समस्या भएको धनगढीकी स्थानीय मुना जोशी भट्टराईले बताइन्। 'आम्दानी बढ्नुको सट्टा बरू घटेको छ, उपभोग्य सामानको मूल्य हरेक दिन बढेको छ,' उनले भनिन्, 'सबैभन्दा बढी त खाने तेलको मूल्य बढेको छ, अरू सबै सामानको पनि मूल्य निकै बढेको छ।'

उपभोग्य वस्तुमध्ये सबैभन्दा बढी मूल्य वृद्धि खाने तेलको भएको छ। दशै-तिहारमा प्रति लिटर २ सय ६० पर्ने सूर्यमुखी तेलमा अहिले ९० रुपैयाँ बढेर ३ सय ५० पुगेको छ। तोरीको तेलमा प्रति लिटर ७० रुपैयाँ बढेर ३ सय १० पुगेको छ। यस्तै सोयाविन तेलमा ६० रुपैयाँ बढेर प्रति लिटर ३ सय २० पुगेको छ। यस्तै सबै किसिमको दाल तथा चामलमा प्रति किलो १० देखि २० रुपैयाँ बढेको छ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै पसलमा आउने ग्राहकले गुनासो गर्ने गरेको धनगढीका किराना व्यवसायी केशव मिश्रको भनाइ छ। 'सबैभन्दा बढी खाने तेलको मूल्य बढेको छ, उपभोक्ताले हरेक दिन नयाँ मूल्य बढेको भन्दै गुनासो गर्नुहुन्छ,' उनले भने, 'अन्य सामानको पनि केही रुपैयाँ मूल्य बढेको भए पनि खाने तेलको भने दोब्बर नै बढेको छ।'

बजारमा फलफूल तथा तरकारीको मूल्य पनि बढेको उपभोक्ताले गुनासो गरेका छन्। यसैगरी मासु तथा दुग्धजन्य वस्तुमा पनि चार पाँच महिना अगाडिको मूल्यमा १० देखि एक सय रुपैयाँ बढेको छ। दुधको मूल्यमा १० रुपैयाँ बढेर  प्रति लिटर ८० पुगेको छ भने दहीमा ३० रुपैयाँ बढेर १ सय २० पुगेको छ। ९ सय प्रति किलो पाइने घ्युको मूल्य १ हजार पुगेको छ भने ६ सय ५० बाट पनिरको मूल्य बढेर ७ सय भएको छ। यस्तै मासुको मूल्य पनि बढेको छ। कुखुराको मासु प्रति किलो ३२० बाट ४२० पुगेको छ भने खसीको मासुमा एक सय बढेर किलोको ९ सय पुगेको छ। 

धनिया जिरादेखि सलाईको समेत मूल्य बढेर भान्साको खर्च धान्न मुस्किल भएको धनगढीको चटकपुरकी कमला पालीको गुनासो छ। 'जिरा-धनिया, साबुन-सोडादेखि सलाईको पनि मूल्य बढेको छ,' उनले भनिन्, 'भान्साको खर्च धान्नै धौंधौं हुन थालेको छ।' विगतका वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र घट्ने क्रम भइरहने भए पनि गत वर्षदेखि भने उपभोग्य सामग्रीको मूल्य निरन्तर बढेको र एक रुपैयाँ पनि नघटेको गुनासो उपभोक्ताले गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस