सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन पाँच सय विगाह जमिन चाहिने

२०७५ फाल्गुन ६, ०४:०७ खबर संवाददाता

धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने परियोजना अगाडी वढाईएका वेला त्यसका लागि झण्डै पाँच सय विगाह जग्गा आवश्यक पर्ने भएको छ । हाल विमानस्थलसँग ७० विगाह जमीन रहेको क्षेत्रीय र अन्तराष्ट्रिय विनमास्थल निर्माण गर्नका लागि पाँच सय विगाह जमीन आवश्यक पर्ने धनगढी विमानस्थलले जनाएको छ । विमानस्थलको स्तरोन्नति गर्नका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अहिलेदेखि नै सुरु गर्न सरोकारवालाले माग गरेका छन् । उनीहरुले अधिग्रहणमा ढिलाई भएमा धेरै संरचना निर्माण हुने र मुआव्जा रकम पनि धेरै वढी लाग्ने भएकोले त्यसको प्रक्रिया अहिले नै अगाडी बढाउन आग्रह गरेका हुन् । स्थानीय तहहरुले  पनि जग्गा अधिग्रहणका लागि आफुहरुले पनि भुमिका खेल्ने र त्यसका लागि लगानी गर्न पनि तयार रहेको बताएका छन । 

धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि लगानी बोर्डले सम्भाव्यता अध्ययनसँगै लगानीकर्ताहरुका लागि आश्वान गर्ने तयारी गरेका वेला त्यसका लागि जग्गा अधिग्रहणको काम सुरु गर्न सरकारलाई पनि आग्रह गरिएको छ । सुदुरपश्चिम प्रदेशको साझा विमानस्थल भएकोले त्यसका लागि सवै स्थानीय तहहरुलाई लगानी गर्नका लागि सवै तहहरु जुट्ने धनगढी उपमहानगरपालिका मेयर नृप ओडले बताए । लगानी बोर्डले धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि प्रस्ताव अगाडी बढाएको छ । योसँग सम्बन्धित प्रक्रिया नागरिक तथा उड्यन मन्त्रालयले बनाउने छ । लगानी बोर्डले चैतमा गर्न लागेको लगानी सम्मेलनमा धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने एउटा परियोजनाको रुपमा अगाडी सार्ने छ । त्यही भएर पनि पर्यटन प्रवद्र्धनका लागि कनेक्टीभिटी आवश्यक रहेकोले अहिले नै जग्गा अधिग्रहणको काम सुरु हुनुपर्ने गोदावरी नगरपालिका मेयर हरिसिंह साँवदले बताए । 

धनगढीमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन समेत गरेको छ । एक महिना अगाडी लगानी बोर्डले यस क्षेत्रमा एक टोली पठाएर त्यसको सम्भावनाको बारेमा सम्भाव्यता अध्ययन गराएको थियो । विभिन्न दृष्टिकोणबाट लगानीकर्ताहरु विश्वस्त हुने गरी क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि लगानी बोर्डले काम गरिरहेका वेला जग्गा अधिग्रहण गराउन र क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सरकारसँग पहल गरिरहेको कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस