चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक
काठमाडौँ: चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वैशाख महिनामा विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ७.८७ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि जम्मा ३.६५ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मूल्यवृद्धि भने ५.८४ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ।
२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि सबैभन्दा उच्च छ। सो उपसमूहको मूल्यवृद्धि २४.८६ प्रतिशत छ। सोही अवधिमा फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ।
सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्यवृद्धि क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको छ। तथ्यांकअनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५, पहाडमा ७.८९ र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति छ।