कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी : धमाधम विद्यालय बन्द गरिँदै
धनगढी : सुदूरपश्चिमको तराइका जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ। गर्मी बढेसँगै विद्यालय पनि धमाधम बन्द गर्ने क्रम चलेको छ। दुई जिल्लाका आधा दर्जन बढी स्थानीय तहहरुले विद्यालय बन्द गरेका छन्।
गर्मीका कारण विद्यार्थी बिरामी हुने गरेको भन्दै स्थानीय तहहरुले मातहतका विद्यालयहरु केही दिनका लागि बन्द गरेका हुन्। कैलालीको गोदावरी नगरपालिकाका विद्यालय बिहीबारदेखि बन्द गरिएका छन्। गर्मी धेरै बढेको भन्दै नगरपालिकाले जेठ २६ गतेदेखी ३१ गतेसम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।
नगरभित्रका सबै विद्यालयलाई बिदा दिन नगरपालिकाले आग्रह गरेको हो। नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्तकुमार खत्रीले नगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालहरुमा बिदा दिइएको बताए। उनले भने, ‘हामीले सहकार्य गरेर निर्णय गरेका हांै। अहिलेसम्म कसैले नमानेको कुरा आएको छैन। सबैले मान्नु भएको छ।’
गर्मी बढेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाले पनि विद्यालय बन्द गरेको छ। नगरपालिकाले जेठ २६ गतेदेखि २७ गतेसम्म सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। बुधवार एक सूचना जारी गर्दै नगरपालिकाले २७ गते सम्मका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ। नगरपालिकाका सूचना अधिकारी उमेश रेग्मीले भने, ‘हामीले २ दिन मात्र बिदा दिएका छौं।’
कञ्चनपुरका तीन स्थानीय तहले गर्मी बिदा दिएका छन्। जिल्लाको भीमदत्त, शुक्लाफाटा र वेदकोट नगरपालिकाले गर्मी बिदा दिएका हुन्। भीमदत्त नगरपालिकाले सबै विद्यालयमा ४ दिन बिदा दिने निर्णय गरेको छ। जेठ २४ देखि २७ गते शुक्रबारसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो। शुक्लाफाँटा नगरपालिकाले २ दिन बिदा दिएको छ। जेठ २६ र २७ गते दुई दिन नगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय शुक्लाफाँटा नगरपालिकाले गरेको हो।
बेदकोट नगरपालिकाले तीन दिन बिदा दिएको छ। गर्मी बढेपछि पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ।