एकैदिन ५ लाख बढी दर्शनार्थी पुगे बेहडाबाबा धाम
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा धाममा यो वर्षको गङ्गादशहरा मेला सुरु भएको छ। गङ्गादशहराको मेला तथा पूजा तीन दिनसम्म हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। बुधबार राति १२ बजेदेखि सुरु भएको पूजा शनिबारसम्म चल्ने र एकै दिनमा करिब ५ लाख भक्तजनले मन्दिरको दर्शन गरेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए।
'दुई वर्षसम्म कोभिडको कारण मेला आयोजना भएको थिएन, तर यो वर्ष भने अहिलेसम्मकै सबैभन्दा बढी दर्शनार्थी मन्दिरमा आएका छन्,' उनले भने बुधबार राति १२ बजेदेखि बिहीबार दिउँसो २ बजेसम्म लाइन लागेर १ लाख जनाले मन्दिरको दर्शन गरेका छन् भने थप ४ लाख जतिले लाइन नलागेर दर्शन गरेका छन्।'
बेहडाबाबामा शिवज्योतिर्लिङ्ग रहेको जनविश्वास छ। उक्त ज्योतिर्लिङ्ग सदियौं अगाडि भारतीय ग्वालाहरूले पत्ता लगाएर, पूजा आराधना गर्न थालेको बताइन्छ। अहिले पनि भारतीय भक्तजनको संख्या उल्लेखनीय हुने गरेको छ भने भारतीय र नेपाली किसानले बेहडाबाबामा गङ्गादशहरामा अन्नदान गर्ने परम्परा रहेको अन्नदान स्थलमा खटिएका पुजारी लक्ष्मण रानाले बताए।
'गङ्गादशहरामा बेहडाबाबामा किसानहरूको आफूले उब्जाएको हरेक आन्न सवा किलोका दरले चढाउने गर्छन्,' उनले भने, 'खेतीपाती राम्रो होस् भनेर मन्दिरमा अन्नदान गर्ने चलन छ।' जेठको उखरमाउलो गर्मी भए पनि सबै उमेर समूहका भक्तजन पूजाआजा गर्न लाइनवद्ध थिए। बेहडाबाबा दर्शन गर्न पाउदा मन निकै प्रफुल्ल भएको धनगढीका प्रेम पुरुषले बताए। 'म पहिलोपटक यहाँ आएको हुँ, यहाँ आउँदा मन निकै प्रफुल्ल र आनन्दित भएको छ,' उनले भने, 'यस्ता धार्मिक ठाउँमा आउनाले मनको चिन्ता सबै हटेर जान्छ, म फेरि फेरि मौका मिल्नासाथ आउनेछु।'
बेहडाबाबा स्वयं भगवान शिव भएको विश्वास गरिन्छ। पशुपति नाथको दर्शन गरेजस्तै पुण्य प्राप्त हुने विश्वास कैलाली, कञ्चनपुर र भारतको उत्तरप्रदेशका मानिसमा रहेको छ। मनोकांक्षा पूरा होस् भनेर बेहडाबाबाको दर्शन गर्न आएको धनगढी-६ की स्थानीय पार्वती थापाले बताइन्। 'भगवानको पूजा आराधना गर्नु हाम्रो धर्म हो, त्यसैले हामी दशहरा, शिवरात्रीलगायतका पर्वमा आउने गर्छौँ,' उनले भनिन्, 'घरमा सुख शान्ति होस् भनेर हामीजस्ता हजारौं आउने गर्छन्।'
कञ्चनपुरका वनबारी रानाले नातिको सुस्वास्थ्यको लागि नातिलाई समेत लिएर आएका थिए। यस्तै भारतको लखिमपुर घर बताउने ब्रजेश गुप्ताले बेहडाबाबा आफूहरूको इष्टदेव भएको बताए। बेहडाबाबा मन्दिरमा वर्षभरि नित्य पूजा हुने गरेको छ। सोमबार र शनिबार उल्लेख संख्यामा भक्तजनको उपस्थिति हुने गरेको छ भने गङ्गादशहरा, महाशिवरात्री, माघे संक्रान्ति, दशैं र चैते दशैंमा निकै धेरै संख्यामा भक्तजन आउने गरेका छन्। तर बेहडाबाबा परिसरमा रहेका मन्दिरलाई नेपाली शैलीमा निर्माण गर्न सकिए र सडक स्तरीय भए बेहडाबाबा धाम धार्मिक र पर्यटकीय गन्तव्य बन्ने विश्वास डोटीको जोरायलका स्थानीय तीर्थराज भट्टको छ।
'धनगढीबाट बेहडाबाबा पुग्ने दुबै सडक धुलाम्मे छन्, सडक कालोपत्र हुनु अति जरुरी छ,' उनले भने, 'नेपाली वास्तुकलाको प्रयोग गरेर बेहडाबाबा धामका मन्दिर बनाउन सके, धार्मिक, पर्यटकीय र वास्तुकलाको बेजोड नमूना बेहडाबाबा हुन सक्छ, यसतर्फ सम्बद्ध सबैको ध्यान जाओस् भन्ने मेरो अनुरोध छ।' बेहडाबाबा धामको थप विकास र प्रचारप्रसार गर्न तीनै तहको सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।