सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो

२०७९ जेठ २६, ०९:४४ खबर संवाददाता

काठमाण्डौँः किमो र रेडिएसन विना मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लगाएको वैज्ञानिकहरुले बताएका छन्।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार हालसालै मलाशयको क्यान्सरबाट पीडित केही बिरामीलाई डस्टरलिमाब (Dostarlimab) नामक औषधिको क्लिनिकल परीक्षण गरिएको थियो। 

यो उपचारबाट केवल ६ महिनामा क्यान्सर पूर्णरूपमा निको भएको पाइएको रिपोर्टमा उल्लेख छ।

यो उपचार अहिले परीक्षणको अवधिमै रहेकाले आम नागरिकका लागि कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने प्रस्ट छैन। यो औषधि अनलाइन बजारमा भने उपलब्ध छ। यो औषधिको एक मात्राको मूल्य ११ हजार डलर पर्छ।

भविष्यमा यसको उत्पादन बढेपछि मूल्यमा गिरावट हुने अपेक्षा गरिएको छ। अहिलेका लागि यो औषधि केवल मलाशयमा हुने क्यान्सरका लागि मात्र प्रयोग गरिएको छ।

अनुसन्धानका लेखक डा. लुइस ए डियाजका अनुसार क्यान्सरको इतिहासमा पहिलोपटक कुनै औषधिबाट बिरामी निको भएका छन्। अहिलेसम्म क्यान्सर पूर्णरूपमा निको हुने कुनै औषधि बनेको थिएन।

क्यालिफोर्निया युनिभर्सिटीका डा. एलन पी विनुकले क्यान्सरसम्बन्धी अनुसन्धानमा हरेक बिरामी ठीक हुनु आफैंमा नयाँ कुरा हो।

न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार यो अनुसन्धानमा रहेका सबै बिरामीले यसअघि नै किमोथेरापी, रेडिएसन र शल्यक्रिया गराइसकेका थिए। 

यसको असरको रूपमा उनीहरूले पिसाब र यौनसँग जोडिएका समस्या पनि भोगिरहेका थिए। तर कुनै पनि बिरामीलाई डस्टरमिलाब औषधिको साइड इफेक्ट देखिएन।

डस्टरमिलाब प्रयोगशालामा बनाइने यस्तो औषधि हो जसले एन्टीबडीको विकल्पको रूपमा काम गर्छ। 

क्यान्सरसँग जुधिरहेका बिरामीको प्रतिरोध क्षमता कमजोर बन्छ। यस्तो अवस्थामा बिरामीलाई रोगसँग लड्न बाहिरी औषधिको सहयोग आवश्यक हुन्छ।

यो औषधिलाई प्रयोगमा ल्याउन अमेरिका र यूरोपमा २०२१ मा अनुमति मिलेको थियो। यसलाई टेसारो कम्पनीले २०२० मा बनाउन सुरु गरेको थियो।
 

कमेन्ट लोड गर्नुस