जंगलमा भ्यू–टावर शिलान्यास गरिएको भन्दै सुदूरपश्चिम सरकारको आलोचना
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ को त्रिवेणी सामुदायिक वनले भ्यू–टावर निर्माणको योजना प्रदेश सरकारसँग माग गर्यो। त्यसपछि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख विनियोजन गर्यो। सामुदायिक वनमार्फत मन्त्रालय मातहतको पर्यटन पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन इकाईले भ्यू–टावर निर्माणको काम सुरु भएको छ।
उक्त टावर गौरीगंगा नगरपालिकाका मेयर देवीदत्त कँडेलले शिलान्यास गरेपछि आलोचना सुरु भएको छ। ‘प्रदेश सरकारले छुट्याएको पैसा हो। स्थानीय तहमा निर्वाचित भएपछि, त्यहाँका साथीहरुले शिलान्यास गर्न बोलाएका हुन्। हाम्रो नगरपालिकाको कुनै बजेट छैन,’ मेयर कडेलले भने। उनका अनुसार सो क्षेत्रमा ताल पनि छ। ‘पर्यटकीय क्षेत्र निर्माण भइरहेको छ। त्यहाँ तालपनि छ। चरा–चुरुङ्गी छन्’ उनले भने।
सुदूरपश्चिम प्रदेश सरकारमार्फत वर्षाैदेखि बजेट विनियोजन भए पनि कैलालीका अधिकांश भ्यू–टावरको निर्माण अलपत्र परेको छ। पर्यापर्यटनका लागि निर्माण सम्पन्न गरिएका योजना पनि विवादमा तानिएका छन्।
सँगै जंगलमा स्थायी संरचना निर्माण गरेको र भ्यू–टावरको औचित्य नभएको भन्दै विरोध हुन थालेको छ। प्रदेश सरकारले भने पर्यापर्यटनका लागि निर्माण भएका भ्यू टावर उपयोगी हुने दाबी गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका प्रमुख भोजराज पाठले सामुदायिक वनले पर्यापर्यटन विकासका लागि त्रिवेणी तालको छेउमा भ्यू–टावर निर्माण थालिएको बताए। उनले भने, ‘सामुदायिक वनमा हो। पर्यापर्यटन विकास गर्ने। वनभोज स्थल लगाएका लागि उहाँहरुले माग गर्नुभएको थियो।’
यस्तै सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीको बुढीतोला, कम्पासे धुरा र मोहन्यालमा भ्यू–टावर निर्माण गर्दैछ। तर भ्यू–टावर निर्माणको काम पूर्ण भएको छैन। क्रमागत योजनामा रहेको बुढीतोलाका लागि १० लाख, कम्पासेधुराका लागि १५ लाख, मोहन्यालका लागि १५ लाख बजेट विनियोजन गरिएको छ। कैलालीको सत्ती–कर्णाली सामुदायिक वनमा ७ लाख र गौरीगंगाको त्रिवेणी ताल परिसरमा भ्यू–टावर निर्माणका लागि १० लाख विनियोजन गरिएको छ।
त्रिवेणी सामुदायिक वनमा भ्यू–टावर निर्माणको काम सुरु भएको छ। तर अन्य भ्यू–टावर निर्माणको काम सुरुसमेत भएको छैन। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका प्रमुख पाठकले सत्ती–कर्णाली सामुदायिक वनमा रहेको भ्यू–टावरको योजना कार्यान्वयन नहुने बताए। ‘उहाँहरुले ठूलो खालको सोच्नुभएछ। पैसा हाम्रो पुग्दैन्। कम्पासे धुरामा रेलिङ्गको काम बाँकी छ। बुढीतोलामा पनि चार वर्ष भयो, अलि–अलि गर्दै बन्दैछ,’ उनले भने।
वन क्षेत्रमा पर्यापर्यटनका लागि संरचना निर्माण गर्न सकिने भए पनि सिमेन्ट–सरीयाका भौतिक संरचना भने निर्माण गर्न पाइदैन। तर प्रदेश सरकारले जंगलमा सिमेन्ट–सरीयाका भ्यू–टावर निर्माण गर्दै आएको हो।
कैलालीको चुरे क्षेत्रका भ्यू–टावर निर्माणको काम भने चार वर्षदेखि सुरु भएको छैन। प्रत्येक वर्ष क्रमागत योजनामा राख्दै बजेट खर्च हुँदै आएको छ। पर्यटन पूर्वाधार निर्माणमा बेवास्ता गरेको सुदूरपश्चिम सरकारले भ्यू–टावर निर्माणमा मात्रै रकम विनियोजन गर्दै आएको भन्दै आलोचना हुँदै आएको छ।