डडेल्धुरा जिससमा काँग्रेसको मात्रै उम्मेदवारी, प्रमुखमा भण्डारी
धनगढीः जिल्ला समन्वय समिति डडेल्धुरामा नेपाली काँग्रेसको मात्रै उम्मेदवार परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समय आज सम्पन्न भएको र काँग्रेसबाहेक अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेको हो। योसंगै काँग्रेसका उम्मेदवार सर्वसम्मत हुने सम्भावना बढेको छ।
समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगरको उम्मेदवारी परेको छ। भण्डारी अमरगढी नगरपालिका वडा नम्बर ७ मा वडा सदस्यमा विजयी भएका थिए भने उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका वडा नम्बर ८ बाट वडा सदस्यमा विजयी भएकी थिइन्।
नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले दिनेशखबरलाई दिएको जानकारी अनुसार समन्वय समितिको सदस्यमा काँग्रेसकै सन्जय जैरु, गणेशसिंह धामी, सुनिता बिक, बसन्ती भुल, टेकबहादुर धानुक, प्रसाद भट्ट र लिलाकुमारी धामीको उम्मेदवारी परेको छ। भोलि कसैविरुद्ध पनि दाबीविरोध नपरे काँग्रेसका उम्मेदवार सर्वसम्मत हुनेछन्।