बझाङका पत्रकार धामीमाथि कुटपिट, दोषीलाई कारबाहीको माग
धनगढी: बझाङका पत्रकार कर्ण धामीमाथि कुटपिट भएको छ। रेडियो जयपृथ्वी एफएममा कार्यरत धामीमाथि गएराति ९ बजे कुटपिट भएको बताइएको छ। उनी एफएमका कार्यक्रम संयोजक पनि हुन्।
एफएमले एक प्रेस विज्ञप्ति जारी गर्दै धामीमाथि कुटपिट भएको र दोषीलाई कारबाही गर्न माग गरेको हो। बिहीबार राति श्रद्धाञ्जली प्रसारण गराउन भनी आएका सुर्मा गाउँपालिका-४ का खडक बोहरा नाम बताउने व्यक्तिले धामीमाथि कुटपिट गरेको एफएमले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
उनी मादक पदार्थ सेवन गरी स्टुडियोभित्र पसेका र श्रद्धाञ्जली छिटो प्रसारण गर्नुपर्छ भन्दै गालीगलौच र कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको जनाइएको छ। श्रद्धाञ्जलीमा मृतकको नाम नभएको अवस्थामा सूचना दिने बोहरालाई पनि नाम थाहा नहुँदा अन्यत्र सोधिखोजी गर्दा समय लागेको तर तत्कालै प्रसारण गर्नुपर्छ भनी दबाब दिई कुटपिट, गालीगलौच गरेको विज्ञप्तिमा उल्लेख छ।
सही सूचना सम्प्रेषणमा रेडियो परिवार गम्भीर भएको जनाउँदै घटनाका दोषीलाई यथाशीघ्र कानुनी कारबाहीको माग गरिएको छ।