भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
पेट्रोल लिटरमा ८ रुपैयाँ बढेर आयो
काठमाडौँः भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ। मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ। डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ। त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ। निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ।
'नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा पुगेको छ', निगमका एक अधिकारीले भने। उनका अनुसार डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा नै छ। समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी पर्ने उनले बताए। निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।