सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटाबारे आन्दोलितहरुको आरोप –संघीय सरकार मेडिकल माफियाको चङ्गुलमा 

२०७९ जेठ १४, ११:०३ कमल सावद

धनगढीः प्रस्तावित गेटा मेडिकल कलेजमा शीघ्र अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको माग गर्दै कैलालीमा दैनिक आन्दोलन भइरहेका छन्। धनगढीबाट एक समूह र गोदावरीबाट अर्काे समूहले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ। शुक्रबार पनि गेटा मेडिकल कलेजको अस्पताल भवन बाहिर विरोधस्वरुप बिरामी चेकजाँच गरिएको थियो। धनगढी र गोदावरीका दुवै समूहले संयुक्त रुपमा स्वास्थ्यकर्मीसहित बिरामी चेकजाँच गरेका हुन्। 

उनीहरुले सरकार मेडिकल माफियाको चङ्गुलमा रहेकाले मेडिकल कलेज सञ्चालनमा ढिलाई हुँदै आएको आरोप लगाएका छन्। मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समिति गोदावरीका संयोजक लोकराज पाण्डे (आगो)ले हाल स्वास्थ्य इमेन्जेन्सी रहेको बताए। उनले मेडिकल कलेजको इतिहास लामो रहेको बताउँदै मेडिकल कलेजमा अस्पताल र एमबीबीएसको अध्ययपन शीघ्र सञ्चालन हुनुपर्ने बताए।

अबको नीति तथा कार्यक्रम र बजेटमा छुटाए, बिराट विरोध कार्यक्रम गर्ने उनले बताए। उनले भने, ‘भवन बनेका छन्। भौतिक संरचनाको काम ९० प्रतिशत पूरा भएको छ। यसलाई रोक्ने को ? सुदूरपश्चिममा अर्काे मेडिकल कलेजको कुरा पनि उठेको छ। स्वागतयोग्य छ। ८८ वटै पालिकामा सरकारले मेडिकल कलेज बनाओस्। विश्वका मानिस उपचार र स्वास्थ्य सेवाका लागि आउन। तर बनेको संरचना रोक्न पाइदैन्।’ उनले अस्पताल र अध्ययापन सुरु नभएसम्म आन्दोलन नरोकिने बताए। सरकारले प्रारुपमा अल्झाउन नहुने उनको भनाई छ।  

प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनका लागि आधारभूत संरचना तयार भए पनि सञ्चालनमा ढिलाई भएपछि प्रदेशवासीले संघीय सरकार मेडिकल माफियाको चंगुलमा परेको चुडामणी भट्टको आरोप छ। उनले सबै भौतिक संरचना तयार हुँदा पनि अस्पताल र एमबीबीएसको अध्यानका लागि बेवास्ता गरिएको बताए। ‘सुदूरपश्चिमको मेडिकल शिक्षाको क्षेत्रमा कोसे ढुङ्गा सावित हुनेगरि योजना निर्माण भयो, यो योजना सरकारको नीति तथा कार्यक्रममा नपर्ने ? अथवा सरकारको मुख्य राष्ट्रिय गौरवको योजनालाई छाँयामा राख्ने षड्यन्त्र भएका छन्’ उनले भने, ‘यसमा केही निजी क्षेत्रका मेडिकल व्यवसायीहरुको सहभागिता रहेको जानकारीमा आएको छ।’ 

उनीहरुले मेडिकल विश्वविद्यालय, मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये जुन प्रारुपमा सञ्चालन गरे पनि अस्पताल र कलेज शीघ्र सञ्चालन गर्न माग गरेका छन्।  सेती प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष रिता भण्डारी बमले शीघ्र अस्पताल र कलेज सञ्चालनको माग गरिन्। मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान जे भए पनि अस्पताल र कलेज सञ्चालन शीघ्र गर्न काँग्रेस नेता पूर्ण कुँवरले बताए। 

गेटाका स्थानीय हेमराज खत्रीले आफु निरास भएको बताए। उनले स्थानीयले उपभोग गर्दै आएको वनमा मेडिकल कलेजका संरचना निर्माणमा सहमति गरेपनि सरकारले अहिले निरास बनाएको बताए। ‘मेडिकल कलेजलाई स्वागत गर्दै ४५ हजार सिसमका बिरुवा हटाएका छौं। सुदूरपश्चिममा स्वास्थ्य सेवा पाउने आशा थियो। ८६ बिघा जमिन दिएका हौं’ उनले भने, ‘अस्पताल सञ्चालनको आशा थियो। तर नीति तथा कार्यक्रममा पनि आएन, हामी निराश भएका छौ। १५ गतेको बजेटमा गेटा मेडिकल कलेज सञ्चालनका लागि बजेट आउनुपर्छ।’ 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस