सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा निर्वाचन आयोगविरुद्ध आन्दोलन, सर्वोच्च अदालत जाने तयारी

कांग्रेस-एमाले दुवै असन्तुष्ट

२०७९ जेठ १३, ०१:२३ खबर संवाददाता

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति विरोध सुरू भएको छ। स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेपछि विरोध सुरू भएको हो। जनमतविरुद्ध आयोगले निर्णय गरेको भन्दै एमालेले अनिश्चितकालका लागि सडक अवरुद्ध गरेको छ।

अहिले बाजुरा प्रवेश गर्ने एक मात्र सडक साफे मार्तडी अवरुद्ध गरिएको एमाले बुढीगंगा नगर अध्यक्ष नरेन्द्र थापाले बताए। देशभर नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे। जनमतविरुद्धको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने उनले बताए। उनका अनुसार महान्यायाधिवक्ता खम्ब खातीका दाजु रङ्ग खाती त्यहाँ कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका छन्। उनलाई विजयी गराउने उद्देश्यले निर्वाचन आयोगले निर्णय गरेको थापाको आरोप छ।

एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने जनाएको छ। आयोगको निर्णय न्यायोचित नभएको भन्दै अदालत जाने एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्ण थापाले बताए। ‘निर्वाचन आयोगको निर्णय विभेदपूर्ण छ। विवाद भएको देशका अन्य पालिका मतगणना हुने यहाँ किन नहुने’ उनले भने ‘हामी सर्वोच्चमा जान्छौँ।’

निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ। कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुनः मतदान गर्ने निर्णय गलत रहेको बताए। यहाँका १० वडा मध्ये कांग्रेसले ४ र ७ नम्बर बडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ। यहाँ ९९ प्रतिशत मतदान भएको थियो। यसबाट पनि बुथ कब्जा गरेको तथ्य पुष्टि हुने एमालेको जिकिर छ। कांग्रेसले भने २,३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ। तर, १, ६ , ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन्।

शान्तिपूर्ण मतदान भएको वडामा पनि पुनः मतदान गर्ने निर्णय उपयुक्त नभएको कांग्रेस सभापति रावलले बताए। विवाद बढेर मतगणना हुन नसकेपछि विवादबारे अध्ययन गर्न निर्वाचन आयुक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो। उनीहरूको रायका आधारमा आयोगले निर्णय गरेको हो। तर, बाजुरामा भने राज्य शक्तिको दुरुपयोग गरेर पुनः मतदान गर्ने निर्णय गरिएको भन्दै विरोध भइरहेको हो।

कमेन्ट लोड गर्नुस