सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजको प्रारुप टुंगो लगाउन के भइरहेको छ ?

२०७९ जेठ १३, ०७:३० कमल सावद

धनगढीः राज्यको चार अर्ब बढी लगानी भएको प्रस्ताविक गेटा मेडिकल कलेजको प्रारुप टुंगो लगाउन उदासीनता देखिएको छ। संघीय सरकारले सुदूरपश्चिमबाट मेडिकल कलेज सञ्चालनका लागि पटकपटक दबाब दिँदा पनि प्रारुप तय नगरेको हो। जसका कारण तयार अवस्थामा रहेका संरचना अहिले प्रयोगविहीन छन्।

संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचनाहरु निर्माण अन्तिम चरणमा पुगाएको छ। गेटामा रहेको साढे ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएको प्रस्तावित मेडिकल कलेजमा चिकित्सा शिक्षाको अध्यापनसंगै ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ। तर सञ्चालनको प्रारुप तय नहुँदा अन्योल बढेको छ। शिक्षा मन्त्रालयले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान स्थापना गरी पाँच सरकारी मेडिकल कलेज त्यसअन्तर्गत रहने एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा वर्षाैदेखि थन्किएको छ।

स्थापनाको तयारी भइरहेका गेटासहित पाँच मेडिकल कलेज र भविष्यमा स्थापना हुने सरकारी मेडिकल कलेजसमेत प्रतिष्ठानमातहतमा रहने व्यवस्था विधेयकमा गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले उक्त विधेयकको नयाँ कुनै प्रगति नभएको बताए। उनका अनुसार उक्त विधेयकको बिषयमा छलफलसमेत नभएको हो। ‘नयाँ थप केही भएको छैन। अस्पताल सञ्चालन गर्न कानून कसरी जाने भन्ने चाहिन्छ,’ उनले भने। चिकित्सा शिक्षा ऐनअनुसार गेटामा भौतिक संरचना निर्माणको काम पूरा भए अस्पताल सञ्चालन गर्न सकिन्छ।

मेडिकल कलेज, मेडिकल विश्वविद्यालय अर्थात स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको लक्ष्य एमबीबीएसको अध्ययन गराउने र अस्पताल सञ्चालन गर्ने हो। तर सुदूरपश्चिमवासीले मेडिकल विश्वविद्यालय बनाउन माग गरेका छन्। मेडिकल कलेजको कार्ययोजनाले २०७७ सालदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको थियो। तर, अहिलेसम्म पनि कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन।

०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो। तर, वातावरणीय प्रभाव मूल्यांकन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै पूर्वाधार निर्माणले गति लिएको हो। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भने, ‘केही पूर्वाधारहरु निर्माणधिन अवस्थामा छन्। रोकिएकै होइन। छिटो गर्नका लागि नेपाल सरकारबाट यस्को मोडालिटिको बारेमा निर्णय भएको भए, सजिलो हुने थियो। हामीले पूर्वाधार पनि पूर्ण तयार पारेको होइन।’

नेपाल सरकार मेडिकल कलेज सञ्चालनको बाधक भएको भन्दै सुदूरपश्चिममा विभिन्न संर्घषहरु सुरु भएका छन्। यस्तै, कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको बैठक सम्पन्न भएको छ। समितिका कार्यवाहक अध्यक्षसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षमा बसेको बैठकले सरकारलाई सञ्चालनको प्रारुप तत्काल तय गर्न लेखेर पठाउने निर्णय गरेको छ। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार बैठकले शिक्षा मन्त्रालयलाई तत्काल प्रारुप तय गर्न लेखेर पठाउने निर्णय गरेको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस