सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चालनको पर्खाइमा गेटा मेडिकल कलेज, ९० प्रतिशत काम सकियो

२०७९ जेठ ११, ०७:३६ कमल सावद

धनगढीः कैलालीको गेटा मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ। २०७३/०७४ सालबाट गेटामा कलेज निर्माण थालिएकोमा काम अन्तिम चरणमा पुगेको हो। पूर्वाधार निर्माणको महत्त्वपूर्ण कामहरु सकिएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए।

उनका अनुसार चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत पूरा भएको छ। 'पूर्ण आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको हो,' उनले भने। अस्पताल र मेडिकल शिक्षा अध्ययनका लागि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्माणको काम लगभग पूरा हुन लागेको उनले बताए। संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायतको संरचनाहरुको निर्माणको काम सकिएको छ।

चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले थप छात्रबासका भवनहरु निर्माणको काम थालेको छ। ६ वटा छात्राबास भवनको निर्माणको काम पूरा हुने दाबी गरिएको छ। 'आगामी आर्थिक वर्षबाट मेडिकल कलेज भित्रका सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी थालिएको छ,' पुजाराले भने, '६ सय शय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको छ। अन्य २७ वटा भौतिक संरचना निर्माणको काम सकिएको छ।'

गेटा मेडिकल कलेजमा भवनहरू बने पनि खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सव स्टेसन निर्माण लगायतको काम भने बाँकी छ। भित्रि क्षेत्रमा सडक कालोपत्रेका लागि पनि ठेक्का गरिएको छैन। मेडिकल कलेज सञ्चालनको प्रारुप पनि टुंगो नलागेको पुजाराले बताए। सुदूरपश्चिमवासीले मेडिकल विश्वविद्यालयको प्रारुपमा संचालन हुनुपर्ने माग गरेका छन्। तर अस्पताल र कलेज संचालनका लागि आधारभूत भौतिक संरचना तयार भए पनि मोडालिटीमा ध्यान नदिएको हो।

०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए र सानो घर पनि बनाएका थिए। उनै शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दियो। तर, ७ वर्षसम्म मेडिकल कलेजको अगाडि बढेन। ०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो। ०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस