बाजुराको बुढीगंगामा पुनः मतदान गराउन कांग्रेसको माग
धनगढी: सत्तारूढ दल नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ। शुक्रबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरिएको हो।
त्यहाँका अधिकांश मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी ९बुथ कब्जा गरी० फर्जी मत हाल्ने काम गरेको कांग्रेसको आरोप छ।
‘निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कफ्र्यू) जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,’ कांग्रेसले भनेको छ, ‘बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजिनामा दिइसक्नुभएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएकोले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निश्पक्ष निर्वाचन हुन नसकेको स्पष्ट हुन आउछ।’