सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका जनताले भत्काइदिए काँग्रेस–कम्युनिष्टका गढ 

२०७९ जेठ ६, ११:०९ नारायण अवस्थी

धनगढी: स्थानीय तह निर्वाचन २०७९ मा सुदूरपश्चिमका काँग्रेसी गढमा कम्युनिष्ट र लाल किल्लामा काँग्रेसले बाजी मारेको छ। यो पटक स्थानीय तहको निर्वाचनमा मतदाताले पार्टीभन्दा पनि व्यक्ति छनोट गर्दा पालिकाको नयाँ नेतृत्वमा व्यापक फेरबदल भएको हो।

बहुदल आएपछि २०४९ मा भएको स्थानीय निकायको पहिलो निर्वाचनदेखि निरन्तर काँग्रेसले जित हासिल गर्दै आएको पालिकामा नेकपा एमालेले जित हात पारेको छ। भने, २०६२/०६३ पछि प्रतिस्पर्धाको राजनीतिमा आएको नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका भनेर दाबी गर्ने पालिकामा नेपाली काँग्रेस र अन्य पार्टीले जित निकालेका छन्। स्थानीय तह सदस्य निर्वाचन २०७९ ले काँग्रेसी गढ र लाल किल्लाको भाष्य बदलिएको छ। 

१० ओटा स्थानीय तह रहेको बैतडीमा नेपाली काँग्रेसले जित हासिल गर्दै आएको दशरथचन्द नगरपालिकामा यो पटक भने नेकपा एमालेले विजय हासिल गरेको छ। २०७४ को निर्वाचनमा ६२ मतले पराजित भएका पुष्करराज जोशीले यो पटक भने काँग्रेसी गढ मानिएको दशरथचन्द नगरपालिकामा एमालेको तर्फबाट जित निकालेका छन्। 

यसैगरी बैतडीमा माओवादीको उद्गमस्थल मानिएको पुर्चौडी नगरपालिकामा नेपाली काँग्रेसका दीपकबहादुर बम १ हजार ९१५ मतको अन्तरले विजयी हुँदा २०७४ मा जित हासिल गरेको नेकपा माओवादी केन्द्र तेस्रो भएको छ। बैतडीको डिलासैनी गाउँपालिकामा यस अघि नेकपा एमालेको सत्ता भए पनि यो पटक भने मतदाताले स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीलाई गाउँपालिकाको अध्यक्षमा चुनेका छन्।

दार्चुलाको महाकाली नगरपालिकालाई काँग्रेसको गढ भनिए पनि यो पटक नेकपा एमालेले जित हासिल गरेको छ। अछामको रामारोशन गाउँपालिकालाई आधार इलाका मान्ने माओवादीले पराजय भोगेको छ भने त्यहाँ नेपाली काँग्रेसका उम्मेदवारको जित भएको छ। अछामकै तुर्माखादमा नेपाली काँग्रेस जित्दै अएकोमा यो पटक भने एमालेलाई मतदाताले सत्तामा पुगाएका छन्।

कञ्चनपुरको बेदकोटमा एमालेलाई पन्छाउँदै नेपाली काँग्रेसले जित हासिल गरेको छ भने दोधारा चाँदनी नेपाली काँग्रेसको गढ भनिए पनि त्यहाँ एमाले निर्वाचित भएको छ।

यता कैलालीका स्थानीय तहमा सबैभन्दा रोचक परिणाम आएको छ। जिल्लाका दक्षिण–पूर्वी तीन पालिका टीकापुर, जानकी, जोशीपुर र भजनीमा रेशम चौधरीको नागरिक उनमुक्ति पार्टीले बहुमत वडासहित विजय हासिल गरेको छ भने काँग्रेसको बलियो पकड रहेको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुवातीदेखि अग्रता कायमै रहेको छ। उता माओवादीले आफ्नो गढ मान्दै आएको कैलारीमा काँग्रेसले बाजी मारेको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस