सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनका कारण सुदूरपश्चिमका स्थानीय सरकारको उपप्रमुखमा पनि पुरुष

२०७९ जेठ ५, ०४:०५ नारायण अवस्थी

धनगढी: स्थानीय तहमा गरिएको ५ दलीय चुनावी गठबन्धनले राजनीतिक नेतृत्वमा महिलाको उपस्थिति घटाएको छ। दलहरूले पुरूष सदस्यलाई नै अगाडि सारेका कारण पालिकाको नेतृत्वमा महिलाको संख्या २०७४ को भन्दा निकै कम भएको हो।  

अहिले सुदूरपश्चिमका अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखमा दुवैमा पुरुष विजयी भएका छन्। गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवारी दिँदा नै महिलालाई दुई प्रमुख पद मध्ये एकमा टिकट दिनुपर्ने भए पनि यो पटक भने अलग अलग दलबाट पुरुषलाई नै टिकट दिएकोले महिलाको उपस्थिति कम भएको हो। 

कैलालीको मोहन्याल गाउँपालिकामा २०७४ मा उपाध्यक्ष महिला भए पनि २०७९ को निर्वाचनमा भने अध्यक्ष र उपाध्यक्षमा पुरुष निर्वाचित भएका छन्। मोहन्यालमा अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा नेपाली काँग्रेसका कमल साउँदले टिकट पाएर चुनाव लड्दा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले चुनाव जित्न सकेनन्। यस्तै कैलालीको बर्दगोरियामा पनि गठबन्धनका लोकेन्द्र सारुमगर उपाध्यक्षमा निर्वाचित भएका छन्।

बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा निर्वाचित भएका छन्। यसैगरी गठबन्धन भएको दार्चुलाका सबैजसो पालिकामा प्रमुख उपप्रमुखमा पुरुष विजयी भएका छन्। नौगाड मालिकार्जुन व्याँस गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवैमा पुरुष सदस्य निर्वाचित भएका छन्।

बझाङका गठबन्धन गरेर चुनाव लडेका स्थानीय तहमा पनि प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष सदस्य नै निर्वाचित भएका छन्। जयपृथ्वी नगरपालिका बुङ्गल नगरपालिका थलारा दुर्गाथली र मष्ठा गाउँपालिकामा दुवै पदमा पुरुष नै निर्वाचित भएका छन्। 

चुनावी गठबन्धन हुँदा फरक–फरक दलबाट प्रमुख र उपप्रमुखले उम्मेदवारी दर्ता गर्दा महिलाहरुलाई प्राथमिकता दिइएन। जसकाकारण स्थानीय सरकारका प्रमुख पदमा पुरुष मात्रै निर्वाचित भएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस