बाजुराको बुढीगंगामा बबाल, मतगणना गर्ने कि पुनः मतदान हुने ?
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनका दिन भएको तनावले त्यहाँको निर्वाचन प्रक्रियानै अन्यौलतामा परेको छ। अहिले बुढीगंगा निर्वाचन अधिकृतविहिन बनेको छ। यहि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको जिम्मेवारी पाएका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले राजीनामा दिएपछि उक्त पालिकाको निर्वाचन प्रक्रिया नै रोकिएको छ।
उक्त नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा पार्टीका कार्यकर्ताबीच झडप हुँदा भयरहित र स्वच्छ रुपमा मतदान नभएको भन्दै चौतर्फी रुपमा दलहरुले दबाब दिएका थिए। सोही दबाबपछि असुरक्षित महसुस भएकोले निर्वाचनको कार्य अघि बढाउन नसक्ने भन्दै निर्वाचन अधिकृत सापकोटाले राजीनामा दिएका थिए।
उनको राजीनामापछि त्यहाँ मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषयमा निर्वाचन आयोग अन्यौलतामा परेको छ। आयोगले अर्का निर्वाचन अधिकृत पठाउन खोज्दा पनि कोही आउन नमानेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताउँछन्।
उक्त नगरपालिकाको ४ वडामा नेकपा एमालेले धाँधली गरेर सहज रुपमा मतदान गर्न नदिएकाले पुनः मतदान गर्नुपर्ने अडानमा काँग्रेसका उम्मेदवार छन्। वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बुथ कब्जा गरेकाले मतदान प्रक्रिया पुनः संचालन गर्न काँग्रेसको माग छ। तर एमालेका उम्मेवार तथा नेताहरुले भने नगरपालिकाका कुनै पनि वडामा धाँधली र बुथ कब्जा नभएकाले मतगणना सुरु हुनुपर्ने अडान राख्दै आएका छन्।
बुढीगंगामा मतदानमा भएको विषयलाई लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले नगरपालिकाका पूरै वडामा पुनः मतदान गर्न निर्वाचन आयोगलाई पत्र पठाएको छ। पत्रपछि आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा आयोगको अनुगमन टोली बाजुरा पुगेको थियो।
अनुगमनमा टोली जिल्लास्थित राजनीतिक दल, उम्मेदवार, मतदान अधिकृत र सुरक्षाकर्मीबाट सुझाव संकलन गरेर फर्किएको छ। टोलीले हालसम्म आयोगमा प्रतिवेदन नबुझाएकाले बुढीगंगामा पुनः निर्वाचन हुने वा मतगणना गर्ने विषयमा अन्यौलता देखिएको छ।