सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने

२०७९ वैशाख ३१, ०७:५८ खबर संवाददाता

धनगढी: बझाङका चार स्थानीय तहमा विवादले मतदान स्थगित भएपछि तत्काल मतगणना नहुने भएको छ। जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा पुनः मतदान भएपछि मात्रै मतगणना हुने बताइएको हो।

छबिसपाथिभेरा गाउँपालिका-६ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमाले पुनः मतदान गर्न माग गरेको छ। जयपृथ्वी नगरपालिका-७ को सुवेडास्थित सुनिपिपल मावि मतदानस्थलमा नेकपा माओवादीका एजेन्टले मतपेटी कब्जा गर्न खोजेपछि झडप भएको थियो। झडपपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै मतदान स्थगन भएको सूचना टाँस गरिएको छ।

केदारस्युँ-४ स्थित जगन्नाथ माविमा स्वतन्त्र उम्मेदवारका आफन्तले फर्जी मत खसालेको भन्दै विवाद उत्पन्न भएको थियो। त्यहाँ पनि पुनः मतदान हुने बताइएको छ। सुर्मा गाउँपालिका-२ को आधाबगर मावि मतदानस्थल र ३ को कृष्ण मावि काटैमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको झडपले मतदान स्थगित भएको थियो। 

कमेन्ट लोड गर्नुस