सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी बस दुर्घटना : तीन जना गम्भीर घाइते (नामसहित)

२०७९ वैशाख २९, ११:२८ खबर संवाददाता

धनगढी: डोटीमा बिहीबार बिहान भएको बस दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिकाकी २५ वर्षीय सेतुदेवी रेग्मी, सोही ठाउँकी २० वर्षीया आकृती गिरी र बुढीगंगा नगरपालिका-६ का ५० वर्षीय नन्दराज रेग्मी गम्भीर घाइते भएका हुन्।

उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। आज बिहान कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना भएको थियो। डोटी प्रहरीका अनुसार दुर्घटनामा ३० जना घाइते भएका थिए। घाइते सबैको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीले चालकको लापर्वाहीका कारण दुर्घटना भएको बताएको छ। बस चालक र सहचालक फरार रहेका र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस