मौन अवधिमा चुनावी प्रचार गर्दै बीना मगर
धनगढी: नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर मौन अवधिको अवज्ञा गर्दै गृह जिल्लामा मत मागिरहेको भेटिएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि तोकेको मौन समयको उल्लंघन गर्दै उनी कञ्चनपुरका मतदातालाई भेटेर माओवादीका लागि भोट मागिरहेकी छिन्।
यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर चुनाव प्रचार गर्न नपाइने बताइएको छ। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगेकी छिन्।
बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्नअंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्। मगर गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेको स्थानीयले बताएका छन्।