सुदूर नेपाललाई विश्वसँग जोड्दै

मतदान केन्द्रमा पुगे कर्मचारी, आजदेखि मतदाता परिचयपत्र वितरण

२०७९ वैशाख २८, ०७:३५ कमल सावद

धनगढीः वैशाख ३० गतेको निर्वाचनमा खटिएका कर्मचारीको मंगलबार दिउसो पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा भिड थियो। कैलाली जिल्लाका अन्य स्थानीय तहमा कर्मचारी पुगेका भए पनि मंगलबार धनगढी उपमहानगरपालिका भित्रका मतदान केन्द्रमा कर्मचारी पठाइएको हो।

मंगलबार आयोगबाट सामग्री बुझेर जिल्लाका सबै केन्द्रमा कर्मचारी पुगेका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। ‘सबै मतदान केन्द्रमा मंगलबार साँझसम्म कर्मचारी पुगिसकेका छन्,’ उनले भने। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामाग्रीसहित कर्मचारी पुगेका हुन्।

उनीहरुले बुधबारदेखि मतदाता परिचयपत्र वितरणको काम सुरु गर्नेछन्। बुधबारदेखि नै मतदानस्थलमा बुथ निर्माणको काम सुरु हुनेछ। बिहीबार साझसम्म परिचयपत्र वितरण र सुरक्षा तथा मतदानको सहजताका लागि बुथ निर्माणको काम पूरा हुने पनेरुले बताए। मंगलबार नै मतदान केन्द्रको क्षेत्रफल, मौन अवधिमा गर्न नहुने कामका लागि मतदान केन्द्रमा सूचना सार्वजनिक गरिएको छ।

जिल्लामा छ सय १९ मतदान केन्द्र तोकिएका छन्। उक्त केन्द्रहरुमा ४ हजार ९ सय ५२ बढी कर्मचारी खटाइएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले राति १२ बजेबाट मौन अवधि सुरु भएकाले सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको बताए। उनले भने, ‘सबै स्थानीय तहमा कर्मचारी पुगेका छन्। उहाँहरुले सूचना सार्वजनिक गरेका छन्। चार किल्ला निर्धारण गरिएको छ।’

२०७४ को निर्वाचनभन्दा कैलालीमा पाँच वटा मतदान केन्द्र र ७२ हजार मतदाता थपिएका छन्। हाल कैलालीका १३ वटा स्थानीय तहको कुल मतदाता सख्या ५ लाख २७ हजार ५ सय ४८ छ। २०७४ मा स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या चार लाख ६० हजार ५ सय ७८ थियो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस