सुदूर नेपाललाई विश्वसँग जोड्दै

मतदानका लागि स्वदेश फर्कने नेपालीमाथि सीमा नाकामा लुट

२०७९ वैशाख २५, ०७:५२ कमल सावद

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरका नवराज आचार्य भारतबाट औषधि गरेर शनिबार धनगढी पुगे। गौरीफन्टा सीमा नाका हुँदै नेपाल प्रवेश गर्दा उनले साह्रै दुख पाए। सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीले रकम नै लिए।

भारतीय सुरक्षाकर्मीले प्रतिव्यक्ती एक सय भारतीय रुपैयाँ लिएका उनले सुनाए। ‘झोला थियो। झोला एक/एक गरेर खोलियो। पैसा दिएपछि मात्रै आउने अनुमति पाए,’ उनले भने। कतिपय नेपालीबाट त ५ सयदेखी एक हजार भारतीय रुपैयाँ असुलेको आरोप पनि लागेको छ। स्थानीय तहको निर्वाचनमा मतदानका लागि भारतबाट स्वदेश फर्किने नेपालीहरु गौरीफन्टा सीमा नाकामा लुटिन थालेका हुन्।

सीमा क्षेत्रमा सुरक्षा चेकजाँचको नाममा भारतीय सुरक्षाकर्मीले रकम असुल गर्दै आएका हुन्। भारतीय सुरक्षाकर्मीलाई रकम दिएपछि मात्र नेपाल प्रवेशको अनुमति पाउने गरेको नेपालीहरुले बताएको छन्। यस्तै नेपाल प्रहरीले पनि सुरक्षा चेकजाँचका नाममा भारतबाट फर्किएका नेपालीहरुलाई दुःख दिने गरेको छ। धनगढीमा होटलसम्म नगर बसमा आउनेहरुले भने नेपाली सुरक्षा अधिकारीको झन्झट सहनु पर्दैन।

भारतबाट फर्केका एक नेपालीले भने, ‘एक–दुई सय दिए, पारिका प्रहरीलाई । नेपाल तिर बसमा आएकाबाट लिदैनन। अटोमा आएको चेक हुँदै थियो। बसमा आएकाहरुको चेक भएन्।’ यस्तै बस तथा होटल सञ्चालनकहरुले प्रहरीसँग मिलोमतो गर्दै आएका आरोप छ।

तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सीमा क्षेत्रमा नेपालीमाथि हुने दुर्ववहार रोक्न भारतीय सुरक्षाअधिकारीलाई आग्रह गरेको बताए। उनले भने, ‘कैलालीको गोदावरीमा केही दिन पहिला भएको बैठकमा भारतीय पक्षले दिने दुखको विषयमा पनि कुरा भएको छ।’ सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि भारतीय ज्यादती रोक्नुको सट्टा आफै नेपालीमाथि दुर्ववहार गर्दै आएको आरोप छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस