सुदूर नेपाललाई विश्वसँग जोड्दै

आचारसंहिताविपरीत भोट माग्दै भूमि आयोग कैलाली

२०७९ वैशाख २४, ०७:५६ कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिकाको नेतृत्वका उम्मेदवारहरु मत माग्नमा जति व्यस्त छन, त्योभन्दा बढी भूमि आयोग कैलालीका पदाधिकारी पनि व्यस्त देखिएका छन्। नेपाली काँग्रेसका धनगढी नगर सभापति समेत रहेका आयोगका जिल्ला अध्यक्ष यज्ञराज उपाध्याय प्रत्येक भूमिहीनको टोल तथा काँग्रेसका चुनावी कार्यक्रममा सहभागी हुँदै आएका हुन्।

उनी प्रत्येक चुनावी कार्यक्रममा भाषणसमेत गर्दै आएका छन्। नेपाली काँग्रेस तथा गठबन्धनका उम्मेदवार धनगढी उपमहानगरपालिकामा विजयी भए लगतै भूमिहीन, अव्यवस्थीत बसोबासीलाई लालपुर्जा वितरण गर्ने उनले बताउदै आएका हन्। 'म भूमि आयोग कैलालीको अध्यक्ष हु भनेर भोट मागिएको थियो,' धनगढी उपमहानगरपालिका वडा नम्बर १९ खेदाका एक स्थानीयले भने, 'काङ्ग्रेसलाई भोट दिए मात्र लालपुर्जा वितरण गर्ने हो। नत्र गर्दैन भनियो।' 

मतदातालाई प्रभावित पार्न मात्र लालपुर्जा वितरण गर्ने आश्वासन दिदै आएका भूमि आयोग कैलालीका पूर्व अध्यक्ष दीपक देवकोटाले बताए। ‘भ्रम छर्ने त होनी,’ देवकोटाले भने, ‘पुर्जा दिन चाँहेको भए, हामीलाई किन बिगठन गरेको ? अरु सारा आयोगहरु चलेका छन्। भूमि आयोगलाई ‘हिट’ किन गरेको ? अहिलेसम्म लगभग ५० हजारले लालपुर्जा पाइसक्थे। भोट भजाउन अगाडि सारेका हुन्।’

भूमि आयोग कैलालीका पदाधिकारीले सरकारी सवारी साधनको दुरुपयोग गर्दै काँग्रेसका उम्मेदवारलाई मत मागेको पनि आरोप लागेको छ। अघिल्लो निर्वाचनमा पनि काँग्रेसले जितेको दोस्रो दिनदेखि नै लालपुर्जा बाड्ने आश्वासन दिएको थियो। तर धनगढीका भूमिहिनले भने लालपुर्जा पाएका छैनन।

नेपाली काँग्रेसबाट धनगढीको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार सीताराम रानाले काँग्रेस विजयी भए, जनताले जग्गाधनी पुर्जा पाउने बताए। ‘२०७९ साल वैशाख ३० गतेको स्थनीय तहको निर्वाचनमा हाम्रो टिम नेपाली काँग्रेसले जित्यो भने, वडा नम्बर ७ मा थुप्रै राम्रा कामहरु गर्ने छौ। ऐलानी–पर्ति जग्गाको लालपुर्जा वितरणका लागि पहल गर्ने छौ,’ उनले भने।

भूमिहीनहरुलाई लालपुर्जा वितरणको मुद्दा प्रत्येक निर्वाचनको समयमा उठ्दै आएको छ। राजनीतिक दलहरुले वैशाख ३० गतेको निर्वाचनमा पनि मत आफ्नो पक्षमा पार्न भूमिहीनलाई लालपुर्जा वितरण गर्ने आश्वासन दिदै आएका छन्। प्रत्येक वडाका वडाध्यक्षका उम्मेदवारहरुले पनि भूमिहीनलाई लालपुर्जा वितरण गर्ने आश्वासन दिएका हुन्। नेकपा एमालेबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार मोति रानाले पनि विकास निर्माणका कामसँगै लालपुजा वितरणका लागि पहल गर्ने बताए।

एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग नेपाली काँग्रेस नेतृत्वको गठबन्धनको सरकारले खारेज गरेको थियो। काँग्रेसका नेताहरुलाई भूमि आयोगका अध्यक्ष बनाइएको छ। तर आयोग कैलालीका अध्यक्ष उपाध्यायले काँग्रेसका चुनावी छलफलहरुमा मात्र सहभागी भएको दाबी गरेका छन्। उनले भने, ‘अहिले लालपुर्जा दिएको छैन। आचारसंहिताले रोकेको छ। वितरण गरेका छैनौ। हामी मिटिङहरुमा हुन्छौ। भोट माग्नेमा हामी छैनौ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस