कञ्चनपुरको कृष्णपुरमा छैन गठबन्धन, मेयरमा कसले मार्ला बाजी ?
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ६ दल चुनावी प्रतिस्पर्धामा रहेका छन्। ०७४ सालको निर्वाचनमा एमाले विजयी भएको नगरपालिकामा यसपटक नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विवेकशिल साझा चुनावी मैदानमा छन्।
नगरपालिकाको नेतृत्वका लागि ६ दल चुनावी मैदानमा रहे पनि नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मुख्य प्रतिस्प्रधा हुने अनुमान गरिएको छ। एमालेले उम्मेदवार परिवतर्न गरेको छ भने नेपाली काँग्रेसले ०७४ सालको निर्वाचनमा पराजित उम्मेदवारलाई फेरि चुनावी मैदानमा उतारेको छ।
०७४ मा नौ सय ४६ मतले पराजित भएका काँग्रेसका उम्मेदवार हेमराज ओझा फेरि चुनावी मैदानमा उत्रिएका हुन्। उनी नेकपा एमालेबाट विजयी मेयर कर्ण हमालले भ्रष्टाचार मात्र गरेको, विकास निर्माणको काम तथा जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै जनतामा मत मागिरहेका छन्। ‘निर्वाचनमा पराजित भए पनि मैले ५ वर्ष जनताको सेवा गरेको छु,’ उनले भने, ‘तर विजयी भएर पनि एमालेले धेरै काम गर्न सकेको छैन। एमाललेले गर्न नसकेको काम म गर्नेछु।’
कृष्णपुर नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमालेका कर्ण हमाल विजयी भएका थिए। तर यसपटक एमालेले उम्मेदवार परिवतर्न गरेको छ। एमालेबाट लोकेन्द्रप्रसाद पन्त प्रमुखका उम्मेदवार छन्। पन्तले पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, स्वाथ्य र शिक्षा क्षेत्रका अधुरा काम पूरा गर्ने बताएका छन्। उनले भने, ‘कैलालीको गोदावरी र शुक्लाफाँटासँग जोडिएको नगरपालिकामा पर्यटन पूर्वाधार निर्माण गर्ने छौ,’ उनले भने, ‘चुरे क्षेत्रमा पर्यटक आउने वातावरण बनाउछौं। शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार निर्माण गर्नेछौ।’
यस्तै नगरपालिकामा माओवादी केन्द्रबाट जोगराज चौधरी, राप्रपाबाट जगदिशप्रसाद भट्ट, एकीकृत समाजवादीबाट सुरेन्द्रबहादुर बम र विवेकशिल साझाबाट सुशिल प्रसाद बडू पनि मेयरका उम्मेदवार छन्। ०७४ सालको निर्वाचनमा एमालेका हमालले ६ हजार ७०६ मत ल्याउदै विजयी भएका थिए। उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ओझाले ५ हजार ७६० मत प्राप्त गरेका थिए। नगर उपप्रमुखमा एमालेकै रमिताकुमारी राना ७ हजार १८ मत ल्याउदै विजयी भएकी थिइन्।
कांग्रेसकी भुवनेश्वरी जोशीले ५ हजार ९२८ प्राप्त ल्याएकी थिइन्। नगरपालिकामा उपप्रमुखका लागि एक जना स्वतन्त्रसहित ६ जना चुनावी मैदानमा छन्। उषादेवी थापा स्वतन्त्र, माओवादी केन्द्रबाट गीता मल्ल, राप्रपाबाट जानकी चन्द, काँग्रेसबाट द्रोपती राना, एकीकृत समाजवादीबाट मञ्जुकुमारी नेपाली र एमालेबाट रमिताकुमारी राना उपप्रमुखको दौडमा छन्। २०७४ को निर्वाचनमा नगरपालिकामा २१ हजार ८ सय ९४ मत खसेको थियो। २०७९ को निर्वाचनमा मतदाताको संख्या पनि वृद्धि भएको छ। तर सत्तारुढ दलबीच गठबन्धन भने छैन।