कञ्चनपुरमा माओवादी, समाजवादी र एमाले कार्यकर्ताको जम्काभेट भएपछि...
धनगढीः कञ्चनपुरमा माओवादी, समाजवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१९ मा नेकपा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले एमाले कार्यकर्तामाथि हातपात गरेका हुन्।
स्थानीय चुनावको प्रचारमा हिडेका एमाले कार्यकर्तालाई माओवादी र समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमाले कञ्चनपुरले जनाएको छ। कुटपिटबाट एमाले कार्यकर्ता राजेन्द्र अवस्थी र अञ्जु कार्की (चौधरी) घाईते भएका छन्। घाईते भएकी कार्कीलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी भइरहेको बताइएको छ।
त्रिवेणी धाम टोलस्थित माओवादी र समाजवादीको संयुक्त र्यालीमा सहभागी भएका कार्यकर्ताले माईकसहित अटोमा गईरहेको बेला आफुहरुमाथि आक्रमण भएको घाईते अवस्थीले बताए। उनले एमालेको गीत बन्द गर्न भन्दै कुटपिट गरेको बताए। एमाले कञ्चनपुरले कार्यकर्तामाथि भएको कुटपिटलाई निन्दनीय भएको जनाउँदै कार्बाहीको माग रेको छ।
यस्तै घटनाबारे प्रहरीमा उजुरी गरेको एमालेले जनाएको छ। उताबाट माओवादी र समाजवादीले पनि एमालेविरुद्ध उजुरी गरेका छन्। कञ्चनपुर प्रहरीले भने दुवै दलका कार्यकर्ताबीच विवादलाई सामान्य भएको बताएको छ। दुबै पक्षलाई छलफलका लागि बोलाईएको समेत प्रहरीले जनाएको छ।