सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अध्यक्षका उम्मेदवारको घोषणापत्रः महाकालीमा पानी जहाज, हेलिकोप्टरबाट सिँचाइ

२०७९ वैशाख १९, ०४:१० खबर संवाददाता

धनगढी: डडेल्धुराको दुर्गम गाउँपालिका, भागेश्वरमा अध्यक्ष पदमा उम्मेदवारी दिएका खडक ठकुराठीले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएर प्रचारप्रसारमा लागिसकेका उनको रोचक घोषणापत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

उनले गाउँपालिका र भारतको सीमा क्षेत्रमा रहेका महाकाली नदीमा नेपाली झण्डावाहक पानी जहाज चलाउने चुनावी एजेण्डा बोकेका छन्। उनले गौरिबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा ४ वर्षभित्रमा सुख्खा बन्दरगाह निर्माण गरी पानी जहाज चलाउने बताएका छन्। 

यस्तै ठकुराठीले आफ्नो घोषणापत्रमा जनतालाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई ३६५ दिन दशैं मनाउने वातावरण मिलाउने कुरा उल्लेख गरेका छन्। कृषिलाई प्राथमिकतामा राखेको बताउने उनले हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाउने बताएका छन्।

यस्तै उनले कृषिमा टेवा पुर्‍याउन गाई, भैंसी तथा बाख्रालाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउने, टप्वाको डाँडादेखि भागेश्वरको मन्दिरसम्म केबुकार चलाउने, गाउँपालिकालाई २ वर्षभित्रमा नगरपालिका घोषणा गर्ने र बेरोजगार युवालाई भत्ताका साथै सिपमुलक तालिम प्रदान गर्ने बताएका छन्। 

‘हर हर ठकुराठी, घर घर ठकुराठी’ चुनावी नारा लिएर घरदैलो अभियानमा होमिएका खडक ठकुराठी पूर्व सशस्त्र प्रहरीका जवान हुन्। ३४ वर्षीय उनी हाल डडेल्धुराको सदरमुकाममा इलेक्ट्रोनिक सामान मर्मतको काम गर्छन्। 
तपाईले बोकेका चुनावी एजेण्डा पूरा हुन्छन् त भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले गर्ने होइन, राज्यले गर्ने हो, सरकारको बजेटले बन्ने हो। हालसम्म कयौं शासक आए कसैले यस्तो गर्न सकेन तर मसँग सबै खुसी भएका छन्।’  उनी भारी मतका साथ जित्ने दाबी समेत गर्छन्। 

कमेन्ट लोड गर्नुस