‘सुन्दर डडेल्धुरा’का अभियानकर्ता मगरको नमूना वडा बनाउने सपना
डडेल्धुरा: करिब १० वर्षअघि उनले ‘सुन्दर डडेल्धुरा’ अभियान थालेर जिल्लाभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई चिनाउने कार्यको थालनी गरे। फोटो पत्रकार समेत रहेका उनले ती सबै क्षेत्रको तस्बिर कैद गरेर प्रचारप्रसार गरेका थिए। उक्त अभियान अन्तरगत ‘सुन्दर डडेल्धुरा’ लेखेका तस्बिर हामी अहिले पनि विभिन्न स्थानमा देख्न पाउँछौं। जिल्लाभित्र ओझेलमा परेका पर्यटकीय तथा धार्मिक क्षेत्रलाई चिनाएर पर्यटन प्रर्वद्धन तथा संरक्षण गर्ने अभियान थाल्ने ती व्यक्ति हुन्, गणेशबहादुर थापामगर।
करिब १८ वर्षभन्दा बढी समय सामाजिक क्षेत्रमा खर्च गरेका उनै मगर यसपालि अमरगढी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा उम्मेदवार बनेका छन्। नेपाली काँग्रेस विपीको तर्फबाट उम्मेदवार बनेका उनीसँग जलवायु परिवर्तन, युवा आत्मनिर्भर र सामाजिक व्यवस्था सम्बन्धी कार्य गरेको अनुभव छ।
सञ्चारकर्मी समेत रहेका उनी पत्रकार महासंघको साधारण सदस्यबाट राजीनामा दिएर घरदैलो कार्यक्रमा होमिसकेका छन्। डडेल्धुरा सदरमुकामको नगरपालिका, त्यो पनि सदरमुकाम रहेका वडा नम्बर ५ को आफ्नै महत्त्व छ। वडा नम्बर ५ मा जित हाँसिल गर्नु भनेको सम्पूर्ण सदरमुकाम क्षेत्रको जिम्मेवारी पाउनु हो। सोही कारण गणेश थापामगर विभिन्न चुनावी ऐजेण्डा बनाएर टोलटोलमा पुगिरहेका छन्।
‘म धेरै ठूला सपना देखाउँदैन। तर वडा नम्बर ५ लाई नमूना वडा बनाउने सपना देखेको छु’ उनी भन्छन्, ‘मैले जिते दिर्घकालिन योजना लागि वडाका वुद्धिजिवीबाटै सल्लाह गरेर योजना बनाउँछु। र, प्रत्येक ३ महिनामा हरेक टोलमा पुगेर वडाले गरेका कार्यको समिक्षा गर्नेछु।’
उनले वडा नम्बर ५ मै रहेको अमरगढी किल्ला संरक्षणका लागि विशेष योेजना बनाउने समेत बताएका छन्। यस्तै सरकारी बजेटबाहेक अन्य सरोकारवाला निकायसँग समन्व्य गरेर बजेट भित्राउने समेत उनको लक्ष्य छ। ‘मेरो १८ वर्षे सामाजिक कार्यको अनुभवलाई प्रयोग गरेर विभिन्न दातृ निकायसँग विकासे बजेट माग गर्नेछ। साथै मेरो मुख्य ध्येय भनेको पारदर्शिता हुनेछ। आइटीको भरपुर प्रयोग गरेर योजना तथा खर्च विवरण सम्पूर्ण वडावासीलाई जानकारी गराइने छ’ उनले भने। विगतमा वडामा भएका कार्य विवरण सबैले नपाएको उनको गुनासो छ।
साथै वडामा रहेका बाझो जमिन प्रयोगमा ल्याएर युवालाई स्वरोजगार बनाउने मगरको लक्ष्य रहेको छ। ‘यहाँ विजनेश प्लान बनाइँदैन। तर हामी विजनेश प्लान बनाएर युवालाई कृषिमा लाग्न प्रेरित गर्नेछौं। तरकारी खेतीदेखि फलफूल खेतीतर्फ युवालाई आकर्षित गर्ने योजना रहेको छ’ मगरले भने।
अव्यवस्थित सदरमुकामको सडक, बजार र बसपार्कलाई व्यवस्थित गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको समेत उनले सुनाए।