दार्चुलामा निर्वाचन सामग्री गाउँ पठाउने तयारी
दार्चुलाः स्थानीय तह निर्वाचनका लागि दार्चुलामा निर्वाचन सामग्री गाउँ पठाउने तयारी गरिँदै छ। निर्वाचनका लागि चाहिने आवश्यक सामग्री जिल्ला आइपुगेका कारण समान जाँच गरी प्याकिङको काम भइरहेको छ। वैशाख २७ गतेभित्र सबै स्थानीय तहका मतदान केन्द्रमा आवश्यक सामग्री पु¥याइ सकिने जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीको भनाइ छ।
मतपेटिकासहित आवश्यक निर्वाचन सामग्री खलङङ्गा ल्याइएको छ। अहिले रुजु गरेर गाउँ पठाउन प्याकिङको काम चलिरहेको छ। जिल्लाका लागि यस पटक १०० नयाँ मतपेटिका ल्याइएको छ। यसअघि जिल्लामा ५०० बढी मतपेटिका सुरक्षित रहेको उनको भनाइ छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री जिल्लामा ल्याइएको हो। मतपत्र र मतदाता परिचयपत्रबाहेक सबै सामग्री आइसकेको कार्यालय प्रमुख जयप्रसाद धामीको भनाइ छ। मतपेटिकासहित छेकवार, स्वस्तिक छाप, मसीदानी, मतदाता नामावलीको सूचीलगायत सामग्री छन्। रुजु गरेपछि सबै गाउँ पठाइन्छ। जिल्लाका नौ स्थानीय तहमा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन्। मतदाता सङ्ख्या ८८ हजार २८५ रहेको छ।